२०८१ असार १ गते १५:३३ विकासन्युज
काठमाडौं । चीनसँग जारी तनाव भारतको इलेक्ट्रोनिक्स उत्पादन उद्योगका लागि निकै महँगो सावित भएको छ । जसका कारण भारतीय इलेक्ट्रोनिक्स कम्पनीहरूले विगत चार वर्षमा १५ अर्ब डलरको उत्पादन घाटा बेहोरेका छन् ।
साथै, यस अवधिमा करिब एक लाख रोजगारीको अवसर पनि गुमेको छ। चिनियाँ नागरिकलाई भिसा दिनमा भएको ढिलाइ र भारतमा कार्यरत चिनियाँ कम्पनीको अनुसन्धानका बीच यस्तो भएको बताइएको छ ।
विभिन्न मन्त्रालयमा पठाइएको ज्ञापनपत्रमा इलेक्ट्रोनिक्स उत्पादन उद्योगले भारतले मूल्यअभिवृद्धिमा २ अर्ब डलरको नोक्सानी बाहेक १० अर्ब डलरको निर्यात अवसर गुमाएको जनाइएको छ ।
चिनियाँ अधिकारीका ४ हजारदेखि ५ हजार भिसा आवेदन सरकारी स्वीकृतिको पर्खाइमा रहेको उद्योगीहरू बताउँछन् । यसले देशमा इलेक्ट्रोनिक्स उत्पादन उद्योगको विस्तार योजनामा बाधा पुगेको छ। सरकारले १० दिनभित्र व्यावसायिक भिसा आवेदन स्वीकृत गर्ने व्यवस्था गरेको अवस्थामा यस्तो अवस्था आएको हो ।
इन्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएसन (आईसीईए) र म्यान्युफ्याक्चरर्स एसोसिएसन अफ इन्फर्मेशन टेक्नोलोजी (एमएआईटी) लबी समूहहरूले चिनियाँ अधिकारीहरूको लागि भिसा स्वीकृति छिटो गर्न केन्द्र सरकारलाई अनुरोध गरेका छन् ।
अहिले भिसा स्वीकृति प्रक्रियामा एक महिनाभन्दा बढी समय लागेको बताइएको छ । प्राविधिक तथा सीप हस्तान्तरण, निर्माण इकाईको स्थापना र सञ्चालन, दक्षता प्रक्रियाको स्थापना र मर्मतसम्भारका लागि चिनियाँ अधिकारीहरू आवश्यक रहेको उद्योग विज्ञहरू बताउँछन् ।
यसका साथै स्थानीय कम्पनीसँगको साझेदारीमा यहाँ उत्पादन केन्द्र स्थापना गर्न आमन्त्रित भएका चिनियाँ कम्पनीका अधिकारीहरूको भिसा आवेदन पनि पेन्डिङमा छ । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.