मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन मेयर बालेन ब्राजिल प्रस्थान

  २०८१ असार ३ गते १३:२८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।

असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन बालेन ब्राजिल प्रस्थान गरेका महानगरपालिकाले जनाएको छ ।

महानगरका अनुसार बालेन पूर्वाधार सल्लाहकार सुनिल लम्सालका साथ ब्राजिल गएका हुन् । बालेन मेट्रोपोलिस विश्वका ठूला महानगरहरूका बिचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज वुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्थाको निर्देशक बोर्ड सदस्य छन् ।

सहरी आवास र भवनहरूको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको महानगरले जनाएको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ। बैठकमा बालेनले सम्बोधन गर्नेछन् ।

कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेबल’ शीर्षकमा बुधवार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा उनले प्यानलिष्टका रूपमा धारणा प्रस्तुत गर्नेछन् ।

सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रित रहेर नीति बहस हुनेछ ।

नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तर्राष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तर्दृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

बालेन असार ८ गते स्वदेश फर्कनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.