भारतमा लक्जरी अपार्टमेन्ट किन्ने बढे, कम मूल्यका घर हुँदैनन् बिक्री

  २०८१ असार ३ गते १५:४४     विकासन्युज

काठमाडौं । भारतका ८ प्रमुख सहरहरूमा जनवरी-मार्च त्रैमासिकमा ६० लाख रुपैयाँसम्मको किफायती घरको बिक्री ४ प्रतिशतले घटेर ६१ हजार १ सय २१ युनिटमा झरेकाे छ । लक्जरी अपार्टमेन्टहरूको उच्च मागले किफायती घरहरूको बिक्रीमा गिरावट आएको बताइएको छ ।

रियल इस्टेट डाटा विश्लेषण गर्ने कम्पनी प्रोपइक्विटीका अनुसार जनवरी-मार्च २०२३ मा मुम्बई महानगर क्षेत्र, बैंगलोर, दिल्ली–एनसीआर, हैदरावाद, पुणे चेन्नई, कोलकाता र अहमदाबादमा ६३ हजार ७ सय ८७ किफायती घरहरू बिक्री भएका थिए ।

तथ्यांकअनुसार सन् २०१९ मा २ लाख २६ हजार ४ सय १४ किफायती घर बिक्री भएको थियो । २०२० मा कोभिड महामारीको बीचमा १ लाख ८८ हजार २ सय ३३ इकाईमा बिक्री घटेको थियो । यद्यपि, २०२१ र २०२२ मा बिक्री बढेर क्रमशः २ लाख १७ हजार २ सय ७४ र २ लाख ५१ हजार १ सय ९८ इकाई पुगेको थियो ।

तथ्यांकअनुसार सन् २०२४ को जनवरी-मार्चसम्ममा देशका यी आठ सहरमा ६० लाख रुपैयाँसम्मको नयाँ घरको आपूर्ति ३७.९० प्रतिशतले घटेर ३३ हजार ४२० युनिट पुगेको छ । गत वर्षको सोही अवधिमा यी सहरहरूमा कुल ५३ हजार ८ सय १८ नयाँ किफायती घरहरू उपलब्ध गराइएको थियो । एजेन्सी