न्युजिल्याण्ड : इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण

  २०८१ असार ३ गते १६:३१     विकासन्युज

न्युजिल्याण्ड । अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्याण्डमा सकुशल अवतरण गराइएको छ । विमानको इन्जिनमा आगलागीपछि इन्जिन बन्द हुँदा विमानलाई एक्कासी अवतरण गराउनुपरेको हो ।

क्विन्सटाउनबाट उडेको करिब ५० मिनेटपछि भर्जिन अष्ट्रेलिया बोइङ ७३७–८०० जेट विमान न्युजिल्याण्डको इन्भरकार्गिल शहरमा अवतरण गरिएको हो ।

क्विन्सटाउन विमानस्थलकी प्रवक्ता क्याथरीन निन्डका अनुसार विमानमा सवार यात्रुको सङ्ख्या र इन्जिनमा आगलागी हुनुको कारण तत्काल थाहा हुन सकेको छैन ।

भर्जिन अष्ट्रेलियाले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना विमानमा ‘चरा ठाक्किएपछि’ भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

करिब ५३ हजार जनसङ्ख्या रहेको क्विन्सटाउन न्युजिल्यान्डको दक्षिणी टापूमा स्कीइङ, साहसिक पर्यटनका लागि लोकप्रिय गन्तव्य हो ।

न्युजिल्यान्डको उड्डयन नियामक निकायले आफ्नो वेबसाइटमा भनेको छ, ‘न्युजिल्यान्डका विमानस्थलमा प्रति १० हजार चार चरा ठोक्किने अध्ययनले देखाएको छ ।’

चारा विमानको कुन भागमा ठोक्कियो, चराको आकार कस्तो थियो भन्ने कुरा यसको गम्भीरता फरक–फरक हुन्छ तर यसलाई विमान चालकको अनुभव र भनाइको आधारमा विश्लेषण गरिन्छ । रासस