२०८१ असार ३ गते १९:१७ विकासन्युज
काठमाडौं । पुँजी बजारमा जीवन बीमा र निर्जीवन बीमा समूह सूचक उच्च छन् । आइतबार (असार २ गते)को अन्तिम कारोबारपश्चात् जीवन बीमा समूह सूचक १० हजार १९२ अंक छ भने निर्जीवन बीमा समूह सूचक १० हजार ६७७ अंक कायम छ । १० हजारमाथि सूचकांक रहेका यी दुई समूहबाट पनि प्रष्ट हुन्छ कि पुँजी बजारमा लगानीकर्ताको चासो सबैभन्दा धेरै बीमा कम्पनीहरूमा छ ।
जीवन बीमा कम्पनीहरूमध्ये पुरानो र परिपक्व कम्पनीका रूपमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)लाई लिइन्छ । पुँजी बजारमा जीवन बीमा कम्पनीहरूमा ‘हटकेक’का रूपमा एलआईसी नेपाललाई लिइन्छ । पुँजी बजारमा सूचीकृत जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै मूल्य भएको कम्पनी एलआईसी नेपाल हो ।
असार २ गतेको तथ्याङ्कलाई आधार मान्दा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३६० रुपैयाँमा अन्तिम कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । यद्यपी सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९० रुपैयाँ घटेको छ । नेप्सेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्ष (५२ हप्ता)मा कम्पनीको सेयर मूल्य अधिकतम १ हजार ८ सय रुपैयाँ पुगेको छ भने न्यूनतम मूल्य १ हजार २३९.७० रुपैयाँ थियो ।
नेप्सेका अनुसार अधिकांश बीमा कम्पनीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा कम छ । तर, विगत ४ वर्षदेखि सेयरधनीहरूको हात रित्तो बनाएको एलआईसी नेपालको सेयर मूल्य भने १ हजार बढी छ । अन्तिम पटक कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता सेयरधनीहरूले कम्पनीबाट लाभांशको स्वाद चाख्न पाएका छैनन् ।
कम्पनीले आर्थिक वर्ष २०६४/६५ मा १५ प्रतिशत, आर्थिक वर्ष २०६५/६६ मा २० प्रतिशत, आर्थिक वर्ष २०६६/६७ मा ५.२६ प्रतिशत नगद लाभांश बाँडेको थियो । यस्तै आर्थिक वर्ष २०६८/६९ मा ६२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद गरी कुल ६५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६९/७० मा ३० प्रतिशत बोनस सेयर र १.५७ प्रतिशत नगद गरी कुल ३० प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ३० प्रतिशत (बोनस), आर्थिक वर्ष २०७१/७२ मा २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत गरी कुल २६.३२ प्रतिशत लाभांश सेयरधनीहरूलाई वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७२/७३ मा २४.८ प्रतिशत बोनस सेयर र १.३ प्रतिशत नगद गरी कुल २६.१ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ३४.४६ प्रतिशत बोनस सेयर र ३५.५३ प्रतिशत नगद गरी कुल ७० प्रतिशत र आर्थिक वर्ष १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
कम्पनीको लाभांश इतिहास हेर्दा पुँजी बजारमा बीमा कम्पनीहरूमा नम्बर वान थियो । अहिले समय बदलिएको छ । अन्य जीवन बीमा कम्पनीले निरन्तर र उच्च दरमा लाभांश वितरण गरिरहेका छन् । तर, ती कम्पनीहरूको सेयर मूल्य उच्च छैन ।
भारतीय बीमा कम्पनी एलआईसीले नेपालको ठूलो व्यावसायीक घराना विशाल ग्रुपसँगको सहकार्यमा सन् २००१ सेप्टेम्बरमा एलआईसी नेपाल सञ्चालनमा ल्याएको हो । विगतमा एलआईसीले उच्च लाभांश बाँडेको भएपनि नेपाल बीमा प्राधिकरणले नयाँ कम्पनीलाई लाइसेन्स दिएपछि प्रतिस्पर्धामा कमजोर बन्न पुग्यो ।
कम्पनीका सूचना अधिकारी सदर्शन गिरी प्राविधिक कारणले सेयरधनीहरूलाई लाभांश बाँड्न नपाएको बताउँछन् । विगत तीन आर्थिक वर्षमा कम्पनीले आर्जन गरेको कमाई रिजर्भमा राखेको र उक्त रकम सेयरधनीहरूकै भएको उनको भनाइ छ ।
‘तीन आर्थिक वर्षदेखि कम्पनीले लाभांश बाँडेको छैन । त्यो सबै नाफा रिजर्भमा राखिएको छ । सेयरधनीहरूको कमाइ खातामा छ । कम्पनीले सेयरधनीहरूलाई कुनै घाटा बनाउँदैन । त्यसमा कुनै शंका छैन । एलआईसीमा लगानी गर्ने सेयरधनीहरू जहिले पनि खुसी नै हुनुहुन्छ,’ उनले भने, ‘प्राविधिक कारणले एलआईसीले लाभांश बाँड्न नपाएको हो । अरू कुनै कारण छैन । कम्पनीको क्षमता नभएको भन्ने पनि होइन ।’
उनका अनुसार अन्य कम्पनीको तुलनामा एलआईसी नेपालको रिजर्भ उच्च छ । ‘कम्पनीले वितरण गर्ने रकम रिजर्भमा छ । त्यसैले यस कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको हो । सेयर मूल्य उच्च भएको हो,’ उनले भने ।
चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म कम्पनीले रिटेन्ड अर्निङ्गमा २ अर्ब ७ करोड ९४ लाख रुपैयाँ, सेयर प्रिमियममा ६ करोड ११ लाख ५१ हजार रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ८० लाख रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमासमा कम्पनीले १९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने १२ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउन कम्पनीले ८८.४५ प्रतिशत अर्थात् २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबर हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा अड्किएको छ ।
सूचना अधिकारी सदर्शन गिरीका अनुसार हकप्रद सेयरको लागि अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको भएपनि एक वर्षदेखि पेण्डिङमा छ । पुँजी नपुर्याएसम्म प्राधिकरणले लाभांश बाँड्न नदिएकाले नगद लाभांश वितरण गर्न नपाएको उनले बताए ।
‘८८ प्रतिशत हकप्रद सेयर जारी गर्ने भनेर बोर्डमा आवेदन दिएका छौं । न्यूनतम पुँजी नपुर्याएसम्म नगद लाभांश बाँड्न मिल्दैन । सबै प्रक्रिया पुरा गरेर के आधारमा बोनस सेयर दिने ?,’ उनले भने, ‘कम्पनीले कमाएको सबै नाफा जगेडा कोषमा राखिएको छ ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.