२०८१ असार ४ गते १७:१७ विकासन्युज
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिममा आधारित पूँजी कार्यान्वयन गर्ने क्रममा आइपर्ने समस्याहरू समाधान गर्न र आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयन गर्ने विषयमा निर्जीवन बीमा कम्पनीहरूसँग अन्तक्र्रिया गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
अध्यक्ष सिलवालका अनुसार बीमा कम्पनीहरू परम्परागत रूपमा नभई आधुनिक समय अनुसार अघि बढ्नुपर्छ । कम्पनीको सक्षमता बढाउन र विश्व बजारमा विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूले आरबीसी लागु गर्नुपर्ने उनको भनाय छ । आरबीसी पूर्णरूपमा कार्यान्वयन गर्न कम्पनीका व्यवस्थापनले जनशक्तिको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उनले बताए । बीमा कम्पनीहरूले आरबीसीको कार्यान्वयन आफ्नै लागि हो भनेर बुझ्नुपर्ने उनको धारणा छ ।
प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले पर्याप्त अध्ययन र गृहकार्य गरेर आरबीसी कार्यान्वयनमा ल्याएको बताए । निर्देशक सुवेदीले गत २०८० साल साउन १ गतेदेखि अन्तरिम रूपमा कार्यान्वयनमा आएको आरबीसी आगामी २०८४ साउन १ गतेदेखि पूर्णरूपमा कार्यान्वयनमा आउने उनले जानकारी गराए ।
उनका अनुसार आरबीसी कार्यान्वयनमा आएका अन्तरिम वर्षहरू बीमा कम्पनीहरूले आर्थिक वर्ष समाप्त भएको मितिले १२० दिनभित्र र पूर्णरूपमा कार्यान्वयमा आएपछिका वर्षमा आर्थिक वर्ष समाप्त भएको मितिले ९० दिनभित्र जोखिममा आधारित पूँजी सम्बन्धी प्रतिवेदन बुझाउनुपर्नेछ । निर्देशक सुवेदीले प्राधिकरणले पनि आरबीसीकै मापदण्डका आधारमा कम्पनीहरूको मूल्याङ्कन गर्ने बताए ।
नेपाल बीमक सङ्घले अध्यक्ष चंकी क्षेत्रीले कम्पनीका फरक–फरक समस्याहरू सङ्कलन गरेर प्राधिकरणमा छलफल गरी समाधान गरे सहज हुने धारणा राखे । आरबीसी कार्यान्वयनका क्रममा भूकम्प तथा बाढी पहिरो जस्ता जोखिमका बीमाशुल्कका बारेमा ध्यान दिए कार्यान्वयन गर्न कम्पनीहरू प्रतिवद्ध रहेको उनको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.