‘चैते ५’ धान खरिद गर्दै आरजु राइस मिल

  २०८१ असार ५ गते १३:१३     विकासन्युज

काठमाडौं । आरजु राइस मिलले न्यूनतम समर्थन मूल्य २५ सय रुपैयाँ प्रतिक्विन्टलमा करिब ६ हजार टन धान खरिद गर्ने भएको छ ।

बर्सेनि मुलुकमा धानचामल आयात भइरहेको अवस्थामा किसानले उचित मूल्य तथा बजार नपाउँदा धान कुहिएर जाने चिन्तामा रहेका मोरङ, झापाका किसानलाई यसबाट केही राहत मिल्ने कम्पनीले जनाएको छ ।

चैते धानमा चिस्यान बढी हुने र वर्षा मौसमका कारण भण्डारण गर्न नमिल्ने हुँदा किसान अन्योल र चिन्तित रहेका बेला आरजु राइस मिलले केही दिनअघिको मूल्यमा थप एक सय रुपैयाँ बढाएर प्रतिमन एक हजार रुपैयाँका दरले धान खरिद गरिरहेको जानकारी दिएको छ ।

‘हामी किसानका पक्षमा छौं, किसानलाई निर्वाहमुखीबाट व्यावसायिककरणतिर लैजान प्रतिबद्ध छौं, आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले भने, ‘किसानको मिहिनेतलाई कदर गर्दै उचित मूल्य दिएर धान खरिद गरिरहेका छौं ।’

सरकारले १८ प्रतिशत चिस्यानको मात्रामा प्रतिक्विन्टल २५ सय तोकेको छ । तर, आरजु राइस मिलले चिस्यानको प्रतिशत २५ प्रतिशत कायम गरी सोही मूल्य राखेको छ ।

स्थानीय स्तरका व्यापारीले धानको मूल्य घटाएर खरिद ठप्प पार्ने र किसानलाई कम मूल्य दिएर ठूलो आम्दानी हात पार्ने प्रपञ्च गर्दा एक साताभित्रै धानको मूल्य प्रतिमन ३ सय रुपैयाँले घटेको छ ।

धान खरिद मूल्य कायम गरिँदा स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारले ध्यान दिनुपर्ने माग स्थानीय किसानको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.