२०८१ असार ९ गते ८:३७ विकासन्युज
काठमाडौं । स्विट्जरल्यान्डको फौजदारी अदालतले भारतीय कामदारमाथि शोषण गरेको अभियोगमा शुक्रबार भारतीय मूलको व्यावसायिक घराना हिन्दुजा परिवारका सदस्यलाई चारदेखि साढे चार वर्षको जेल सजाय सुनाएको छ । तर, अदालतले मानव बेचबिखनको गम्भीर आरोप भने खारेज गरेको छ ।
भारतीय मूलका उद्योगपति प्रकाश हिन्दुजा र उनकी श्रीमती, छोरा र बुहारीलाई आफ्ना कामदार (नोकर) तस्करी गरेको आरोप लागेको थियो । यिनीहरूमध्ये अधिकांश अशिक्षित भारतीयहरू थिए जसले जेनेभामा उनको विलासी भिल्लामा काम गर्थे ।
हिन्दुजा परिवारको जरा भारतसँग जोडिएको छ । यो परिवार सन् १९८० को दशकको अन्त्यतिर स्विट्जरल्यान्डमा बसोबास गरेको थियो ।
हिन्दुजा परिवारको सूचना प्रविधि, मिडिया, पावर, रियल इस्टेट र हेल्थकेयर जस्ता क्षेत्रमा व्यवसाय छ । फोर्ब्सका अनुसार हिन्दुजा परिवारको कुल सम्पत्ति करिब २० अर्ब डलर छ । हिन्दुजा बेलायतको धनी परिवारमध्ये एक हो ।
फोर्ब्सको सूचीअनुसार गत वर्ष हिन्दुजा परिवार भारतको सबैभन्दा धनी व्यक्तिको ७औं स्थानमा परेको थियो । यो परिवार विश्वको ठूला २ सय धनी व्यक्तिको सूचीमा आबद्ध छ ।
हिन्दुजा परिवारको लगानी अशोक लेल्यान्ड, हिन्दुजा टेक टेलिकम, गल्फ आयल इन्टरनेसनल लिमिटेड तथा ग्यास, क्वेकर हाउटन इन्टरनेसनल लिमिटेड, हिन्दुजा नेसनल पावर कर्पोरेसन लिमिटेड, हिन्दुजा रिन्युएवल्स इनर्जी प्रालि, इन्डसइन्ड बैंक, हिन्दुजा हाउजिङ फाइनान्स, स्विच मोबिलिटी, पीडी हिन्दुजा हस्पिटल, हिन्दुजा लेल्यान्ड फाइनान्स लिमिटेड, जीओसीएल कर्पोरेसन लिमिटेड, तारे होटलहरू, सूचना प्रविधि, अटो, पूर्वाधार निर्माण, रियल इस्टेट लगायतमा छ ।
हिन्दुजा परिवारका चार सदस्यलाई कर्मचारीको राहदानी जफत गरेको, स्विस फ्रयांकको सट्टा रुपैयाँमा भुक्तानी गरेको पनि आरोप लगाइएको छ ।
यस्तै उनीहरूलाई स्विजरल्यान्डमा आफ्नो भिल्ला छाड्न प्रतिबन्ध लगाइएको थियो र धेरै थोरै पैसाका लागि लामो समय पीडादायी रूपमा काम गर्न बाध्य पारिएको आरोप लगाइएको छ ।
अदालतले परिवारका चारै जनालाई कर्मचारीको शोषण र अनधिकृत रोजगारी दिएको अभियोगमा दोषी ठहर गरेको छ । श्रमिकले स्वेच्छाले काम गरेको भनेपछि अदालतले तस्करी मुद्दा खारेज गरेको थियो ।
फैसला सुनाउँदा चारै जना अभियुक्त जेनेभा अदालतमा उपस्थित थिएनन् । परिवारका व्यापार प्रबन्धक र पाँचौं अभियुक्त नजीब जियाजी अदालतमा उपस्थित थिए । उनलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो, जसलाई निलम्बनमा राखिएको छ । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.