भारतकै दोस्रो धनी गौतम अडानीको तलब ९ करोड २६ लाख मात्र

  २०८१ असार ९ गते १२:४२     विकासन्युज

काठमाडौं । भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीले ३१ मार्च २०२४ मा समाप्त हुने आर्थिक वर्षमा कुल तलब (पारिश्रमिक) ९ करोड २६ लाख रुपैयाँ पाएका छन् ।

यो तलब उद्योगमा उनका अन्य समकक्षीहरूको तुलनामा उल्लेखनीय रूपमा कम छ । सूचीकृत अडानी समूहका १० कम्पनीको वार्षिक प्रतिवेदनले ६१ वर्षीय अडानीले बन्दरगाहदेखि ऊर्जा क्षेत्रमा कार्यरत १० समूहमध्ये दुई कम्पनीबाट मात्रै तलब लिएको देखाएको छ ।

उनले समूहको प्रमुख कम्पनी अडानीनी इन्टरप्राइजेज लिमिटेड (एईएल) बाट २०२३/२४ मा तलबको रूपमा २ करोड १९ लाख रुपैयाँ तथा लाभ र अन्य भत्ताहरूका रूपमा २७ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

एईएलको वार्षिक प्रतिवेदन अनुसार उनको कुल तलब २ करोड ४६ लाख रुपैयाँ अघिल्लो आर्थिक वर्ष २०२२/२३ भन्दा तीन प्रतिशत बढी हो ।

यसबाहेक अडानीले अडानी पोर्ट्स एन्ड सेज लिमिटेड (एपीएसईजेड) बाट ६ करोड ८० लाख रुपैयाँ तलब पाएका थिए ।

अडानीको तलब भारतका लगभग सबै ठूला परिवार समूहका प्रमुखहरूको भन्दा कम छ । भारतका सबैभन्दा धनी मुकेश अम्बानीले कोभिड-१९ पछि कुनै पनि तलब लिइरहेका छैनन् ।

यसअघि उनको तलब वार्षिक १५ करोड रुपैयाँमा सीमित थियो । अडानीको तलब टेलिकम दिग्गज सुनील भारती मित्तल (२०२२/२३ मा १६ करोड ७० लाख), राजीव बजाज (५३ करोड ७० लाख), पवन मुन्जाल (८० करोड), एलएन्डटी अध्यक्ष एसएन सुब्रमण्यम र इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सलिल एस इटको भन्दा एकदम कम छ ।

‘ब्लूमबर्ग बिलियनेयर इन्डेक्स’का अनुसार अडानीको कुल सम्पत्ति १ खर्ब ६ अर्ब अमेरिकी डलर बराबर छ । उनी एसियाकै धनी व्यक्ति बन्न अम्बानीसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

२०२२ मा उनी एसियाकै धनी बने । तर, अमेरिकी सर्ट सेलर हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि गत वर्ष उनको समूहका कम्पनीहरूको सेयरको मूल्य १ खर्ब ५० अर्ब डलरले घटेको थियो। यो वर्ष उनले अम्बानीलाई दुई पटक पछि पारेका छन् । तर, अहिले उनी दोस्रो स्थानमा छन् ।

अम्बानी १ खर्ब ११ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा १२औं स्थानमा छन् । यो सूचीमा अडानी १४औं स्थानमा छन् ।

वार्षिक प्रतिवेदनअनुसार अडानीका कान्छो भाइ राजेशले एईएलबाट नाफामा कमिसनको रूपमा ४ करोड ७१ लाखसहित ८ करोड ३७ लाख रुपैयाँ तलब पाए ।

योसँगै उनका भतिजा प्रणव अडानीले ४ करोड ५० लाख कमिसनसहित ६ करोड ४६ लाख रुपैयाँ पारिश्रमिक पाएका छन् । एजेन्सी