सीएसआरको रकम तत्काल खर्च गर्न प्राधिकरणका अध्यक्षको निर्देशन

  २०८१ असार ९ गते १६:०५     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीहरूलाई सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम तत्काल र्खच गर्न निर्देशन दिएका छन् । आइतबार नेको इन्स्योरेन्सले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको जिल्ला उपशाखा बाणगंगालाई एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

उनले बीमा कम्पनीहरुले सीएसआर अन्तर्गतको खर्च जनताको हित हुने क्षेत्रमा गर्नुपर्ने बताए । साथै समाजबाट कम्पनीहरूले व्यवसाय गर्ने र सो व्यवसायबाट हुने नाफाको एक प्रतिशत रकम सम्बन्धित क्षेत्रमा खर्च गर्नुपर्ने उनको भनाइ छ ।

‘कम्पनीले समाजबाट व्यवसाय गरेर समाजमै सामाजिक सेवाको रूपमा काम गर्नुपर्छ,’ उनले भने, ‘सीएसआरको रकम बचत गरेर राख्नु हुँदैन, त्यो रकमलाई तत्काल खर्च गर्नुपर्छ ।’

सीएसआरको रकम समयमा खर्च हुँदा कम्पनीको हितमा हुने उनले बताए ।