यती ग्रुपभित्र सम्पत्ति विवाद उत्कर्षमा, धोकाधडी र निधनपछि मुद्दा अदालतमा

  २०८१ असार ११ गते १६:२६     सीआर भण्डारी

काठमाडौं । पर्यटकको भारी बोके । लामो समय भान्से बने । हिमाली क्षेत्रलाई व्यवसायको खम्बाका रूपमा उभ्याए । विदेशी पर्यटक ल्याएर  विश्वका अग्ला हिमाल चढ्न सिकाए । एयरलाइन्स, ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी र होटल तथा रिसोर्टहरू सञ्चालनमा ल्याए । दर्जनौं कम्पनी खडा गरे । अर्बाैंको साम्राज्य बनाए । नेपाली पर्यटनका पर्याय बने ।

यो सम्झिँदा धेरैको मानसपटलमा एउटै नाम आउँछ  स्वर्गीय आङछिरिङ शेर्पा। वि.सं २०७५ साल फागुन १५ गते हेलिकोप्टर दुर्घटनमा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा  सदाका लागि अस्ताए । कुनै विदेशी व्यक्ति घुम्नका लागि नेपाली भूमिमा पाइला टेकेदेखि फिर्ता हुँदासम्म कुनै पनि कम्पनीमा आँखा लगाउनु नपर्ने गरी पर्यटन क्षेत्रमा आङछिरिङले ‘इकोसिस्टम’ बनाएका थिए ।

पर्यटन क्षेत्रसँग सम्बन्धित साना-ठूला सबै सेवा उपलब्ध हुने गरी आङछिरिङले एकल प्रणाली लागु गरेर पूर्वाधार खडा गरेका थिए । आङछिरिङको निधनपछि उनले खडा गरेको अर्बाैंको साम्राज्य ल्हाक्पा सोनाम शेर्पाले सम्हाल्दै आएका छन् । तर, दर्जनौं कम्पनीको अर्बौको पोर्टफोलियो सम्हाल्दै आएका ल्हाक्पा सोनामले आफ्नो परिवारभित्रको विवाद भने सम्हाल्न सकेनन् ।

परिवारमा विवाद

स्वर्गीय आङछिरिङ शेर्पाका ४ दाजुभाई र ७ जना दिदीबहिनी हुन् । जेठो फूर्वा ग्याल्जेन शेर्पा, माइलो ल्हाक्पा सोनाम शेर्पा, साइलो आङ छिरिङ शेर्पा र कान्छो आङ तेण्डी शेर्पा भन्ने आङ टेन्डी शेर्पा हुन् । उनीहरूका बुवा पासाङ नुरु शेर्पा र आमा पेम्वा दिक्की शेर्पा हुन् ।

बुवा पासाङ नुरुको वि.सं.२०३४ र आमा पेम्वा दिक्कीको वि.सं.२०७० सालमा निधन भयो । साथै, जेठो दाजु फूर्वा ग्याल्जेनको वि.सं. २०३० र कान्छो भाई आङ टेण्डीको वि.सं. २०५५ कार्तिक ७ गते निधन भयो ।

फूर्वा ग्याल्जेनको अंशहक खाने पत्नी र छोराहरूमध्ये पेलु शेर्पा, पासङ रिङजी शेर्पा, आङछिरिङको अंशहक खाने पत्नी, छोराहरू चन्दा शेर्पा, नावाङ पासाङ शेर्पा र नोर्बु छिरिङ शेर्पा र आङ टेण्डीको अंशहक खाने पत्नी, छोराहरू फुरदिकी शेर्पा, लाक्पा गेलु शेर्पा र दावा जाङवु शेर्पा हुन् ।

बुवाआमा, जेठोदाई फूर्वा ग्याल्जेन र कान्छोभाई आङ टेण्डीको निधनपछि परिवारको जिम्मेवारी आङछिरिङ शेर्पाले सम्हाल्दै आएका थिए । तर, उनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि ल्हाक्पा सोनामले जिम्मेवारी सम्हाले ।

अर्बौको साम्राज्य खडा गरेको शेर्पा परिवारमा अंशबण्डा भएको छैन । बुवा पासाङ नुरुको निधनपछि घर व्यवहार, खेतीपाती, व्यापार, व्यवसाय चारै दाजुभाईले आपसी सरसल्लाहमा गर्दै आएका थिए । तर, चार दाजुभाईमध्ये तीनजनाको निधनपछि घर मूली माइलो भाई ल्हाक्पा सोनामले सम्हाल्दै आएका हुन् ।

‘लाक्पा सोनाम शेर्पाले तीन दाजुभाईको मृत्युपछि परिवारका सबै सदस्यहरूलाई समान रूपमा आर्थिक गर्जो टार्दै राम्रै व्यवहार गरिरहनु भएका थियो । तर, सासुआमा पेम्वा दिक्कीको निधनपछि विस्तारै व्यवहारमा परिवर्तन हुन थाल्यो,’ बुहारी फुरदिकी शेर्पाले भनिन्, ‘अंशभाग माग गर्दा एक/दुई वर्ष पर्ख, परिवार धेरै ठूलो भइसक्यो, चारै भाईको अंशबण्डा गरिदिन्छु भनेर आश्वासन दिनुभयो । तर, ४/५ वर्ष बित्दासमेत अंशबण्डा गर्न ईन्कार गर्नुभयो ।’

फुरदिकी शेर्पा आङ टेन्डी शेर्पाकी श्रीमती हुन् । उनै फुरदिकी शेर्पा, छोरा दावा जाङवु शेर्पाले काठमाण्डौ जिल्ला अदालतमा  अंश मुद्दा दायर गरेका छन् । उनीहरूले ल्हाक्पा सोनाम शेर्पा, पेलु शेर्पा, पासाङ रिङजी शेर्पा, चन्दा शेर्पा, नावाङ पासाङ शेर्पा, नोर्बु छिरिङ शेर्पा विरुद्ध मुद्दा दायर गरेका हुन् ।

आफ्नो सम्पत्ति थाहा छैन

मुद्दा दायर गर्ने वादी फुरदिकी शेर्पाले आफ्नो सम्पत्ति कहाँ, कति, कस्को नाममा रहेको छ भनेर जानकारी नभएको बताएकी छन् । तर, चारै जना दाजुभाईले पैतृक सम्पत्ति तथा सो सम्पत्तिबाट विभिन्न जिल्लामा कम्पनी खडा गरेको र ती कम्पनीको नाममा घरजग्गाहरू समेत रहेको उनको दाबी छ । उनका अनुसार सोलुखुम्बु र काठमाण्डौं लगायत विभिन्न जिल्लामा चल-अचल सम्पत्ति छ ।

फिराद पत्रमा यती एयरलाइन्स प्रालिको काठमाडौंको सिनामंगल, बानेश्वर-१०, नेपलगञ्ज र ललितपुर, माउण्टेन रिसोर्ट अफ नेपालको लुक्ला, नाम्चेबजार, फकडिङ, थामे, मुस्ताङ, माझगाँउ, विरेथानी, मनजो, घन्द्रुक, धामपुस आदी स्थानमा आफ्नै घरजग्गामा कार्यालय सञ्चालनमा रहेको उल्लेख छ । काठमाडौंको बसुन्धारामा थामसेर्कु ट्रेकिङ प्रालि र लैनचौर उत्तरढोका तथा दरवार महलमा थमसर्कु डेभलपर्स कम्पनी सञ्चालनमा रहेको छ ।

वादी फुरदुकीका अनुसार यति एडभान्चर प्रालिको वालुवाटर र तारा एयर प्रालिको सिनामंगलमा आफ्नै घरजग्गामा कार्यालय सञ्चालनमा छन् । तर, कस्को नाममा कति सेयर छ भन्ने बारे आफूहरूलाई जानकारी नभएको उनले बताएकी छन् ।

‘पिताको देहान्तपछि तिमीहरुको नाममा पनि सेयर खरिद गर्ने र नामसारी गरी दिने भनी बेलाबेलामा कागजमा सही छाप गराउनुभयो । तर, हाम्रो नाममा सेयर भए पनि के कति छ केही जानकारी छैन,’ वादी फुरदुकी शेर्पाले भनेकी छिन्, ‘मूल अंशियार तथा मुल अंशियारका पत्नी, छोराछोरीको नाममा उल्लेखित कम्पनीहरू बाहेक अरू पनि धेरै कम्पनीमा सेयर छ, पछि फेला पारेको बखत पेश गर्ने नै छौं ।’

साथै कम्पनीहरूको दर्ता प्रमाणपत्र, सेयर लगत लगायतको प्रमाण कागज विपक्षीहरुसँग भएको र आफूहरूसँग नभएकाले कम्पनी रजिष्‍ट्रारको कार्यालयबाट उपलब्ध गराइपाउँ भनेर माग गरेकी छन् ।

बादीहरूले मुलुकी देवानी संहिता, २०७४ को दफा २०५, २०६, २०९, २११ बमोजिम आफ्नो अंशहक छुट्याईं पाउँ भन्दै अदालतमा फिरादपत्र दर्ता गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.