थाइल्याण्डका वाणिज्यमन्त्रीले किन खाए १० वर्ष पुरानो चामलको भात ?

  २०८१ असार १२ गते १२:३९     विकासन्युज

काठमाडौं । अक्सर मानिसहरू नयाँ चामलभन्दा पुरानो चामल धेरै सुगन्धित र स्वादिलो ​​हुन्छ भनेर भन्छन् । तर, प्रश्न यो छ- ‘१० वर्ष पुरानो चामलकाे भात खानु स्वास्थ्यका लागि राम्रो हो कि होइन ?’

भर्खरै थाइल्याण्डका वाणिज्यमन्त्री फुमथम भेचायाचाईले १० वर्ष पुरानो चामलको भात खाएर मिडियालाई देखाएपछि यो प्रश्नको चर्चा सुरु भएको हो । यो थाई सरकारले हालै लिलामी गरेको १५ हजार टन चामल खान योग्य छ भनी प्रमाणित गर्ने उनको उद्देश्य थियो ।

लिलामी हुने चामलको स्टक १० वर्ष पुरानो भएकाले थाई प्रशासनले यसो गर्न आवश्यक परेको हो ।

सन् २०११ मा तत्कालीन थाइल्यान्डका प्रधानमन्त्री यंग लिक सिनावात्राले एक विवादास्पद योजना लागु गरेका थिए जसअन्तर्गत ५४० लाख टनभन्दा बढी धान किसानबाट बजार मूल्यभन्दा बढी मूल्यमा खरिद गरिएको थियो । तर, यो योजनालाई उनीहरूको आर्थिक असफलता मानिएको छ ।

यो योजनापछि थाई सरकारले आर्थिक समस्याको सामना गर्नुपर्‍यो किनभने यसको चर्को मूल्यका कारण चामल बेच्न सकिएन र सरकारको भण्डारमा ठूलो मात्रामा चामल स्टक रहन गयो ।

गत महिना थाइल्याण्डका वाणिज्य मन्त्रीले चामल बिक्रीको अनुगमन गर्न समिति गठन गर्ने घोषणा गरेका थिए । जुन १७ मा एक थाई कम्पनी ‘भी८ इन्टरट्रेडिङ’ ले २८ करोड ६० लाख भाट (७८ मिलियन डलर) बोली लगाएर लिलामी जितेको थियो ।

तर, १० वर्ष पुरानो चामल कति खानयोग्य छ भन्ने कुरामा मानिसहरूले चर्चा गरिरहेका छन् ।

थाइल्याण्ड विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देशमा गनिन्छ  । तर, पनि देशले नाफामा चामल बिक्री गर्न सकेको छैन । यस योजनामा ​​सरकारलाई करिब १५ अर्ब रुपैयाँ घाटा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सन् २०१४ मा प्रधानमन्त्री यंग लिक सिनावात्राको सरकार महिनौंको विरोधपछि सैन्य विद्रोहमा पराजित भयो । यसपछि सन् २०१७ मा यस योजनाका कारण आर्थिक नोक्सान भएको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो, जसमा उनी लापरवाही गरेको आरोपमा दोषी ठहर भएका थिए ।

चामलको गुणस्तर कस्तो छ ?

ठूला गोदाममा चामल भण्डारण गरिन्छ । गत महिना थाइल्याण्डका वाणिज्यमन्त्रीले उक्त भण्डारबाट लिएको चामलको गुणस्तर प्रमाणित गर्ने प्रयासमा मिडियाको अगाडि खाए ।

वाणिज्यमन्त्रीले चामलको दाना अझै सुन्दर देखिएको बताए । ‘यसको रंग अलि बढी पहेँलो हुन सक्छ, १० वर्ष पुरानो चामल यस्तै देखिन्छ,’ उनले भनेका थिए ।

उनले सञ्चारकर्मीलाई चुनौती दिँदै जुनसुकै चामलको बोरामा प्वाल बनाएर चामलको गुणस्तर जाँच्न सक्ने बताए । थाइल्यान्डका वाणिज्यमन्त्रीले उक्त चामलको स्वास्थ्य मन्त्रालयको प्रयोगशालामा परीक्षण गरी नतिजा सञ्चारकर्मीमाझ सार्वजनिक गरेका थिए । उनले अनुसन्धानका क्रममा चामलमा विषाक्त रसायन नभेटिएको बताए ।

प्रयोगशालाका अनुसार त्यो पुरानो चामलको पोषण मूल्य अहिले बजारमा पाइने चामलभन्दा फरक थिएन । च्यानल ३ नामक स्थानीय टेलिभिजन नेटवर्कले स्वतन्त्र प्रयोगशालाबाट चामलको अर्को परीक्षण गराएको थियो । त्यो परीक्षणमा चामल खान सुरक्षित भएको नतिजा आयो ।

के चामल कहिल्यै खराब हुन्छ ?

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार चामललाई सुख्खा र चिसो ठाउँमा हावा बन्द गर्ने भाँडोमा राखेर लामो समयसम्म भण्डारण गर्न सकिन्छ ।

त्यस्तै, अमेरिकाको राइस फेडरेसनले चामललाई राम्ररी भण्डारण गरेमा ‘लगभग अनिश्चितकालका लागि’ प्रयोगयोग्य रहने बताएको छ ।

पोषण र स्वादमा प्रभाव

एफएओलाई एक दशकसम्म कीटनाशकको ​​प्रयोगले धानमा विषाक्त हुन सक्छ ? भनेर प्रश्न सोधिएको थियो । एफएओले भने औषधी प्रयोग गर्दा सबै सावधानी अपनाएमा धानमा असर नहुने बताएको थियो ।

चामललाई १० वर्षसम्म भण्डारण गर्दा त्यसको पौष्टिकतामा कमी आउँछ ? भन्ने प्रश्नको जवाफमा उसले चामलमा थोरै मात्रामा पाइने सूक्ष्म पोषक तत्वको कमी भए पनि समग्र धानको पौष्टिकतामा खासै फरक नपर्ने बतायो ।

एफएओले चामलको प्रयोगबाट सबैभन्दा बढी पौष्टिक फाइदा यसमा रहेको उच्च गुणस्तरको स्टार्चबाट हुने गरेको बताएको छ । मानव शरीरले यसलाई ऊर्जामा परिणत गर्छ ।

चामलले सामान्यतया समयसँगै यसको स्वाद गुमाउने तर चामललाई कसरी भण्डारण गरिएको छ भन्नेमा भर पर्ने पएफएओको भनाइ छ ।

थाई टिभी एंकर सुरायोत सोथासनचन्दले १० वर्ष पुरानो स्टकबाट चमेली चामलको स्वाद लिएका थिए । उनले यो सेतो चामल जस्तै स्वादिलो ​​हुने तर यो चामलमा हुनुपर्ने नरमता र सुगन्धित नभएको बताए ।

यो चामलको के गरिन्छ ?

थाई राइस एक्सपोर्टर्स एसोसिएसनका अनुसार गत वर्ष थाई चामलको सबैभन्दा ठूलो खरिदकर्ता इन्डोनेसिया र दक्षिण अफ्रिका थिए । थाइल्याण्डमा चामल मिल चलाउने तोता वाङ्दीले पुरानो चामल प्रायः गरिब देशहरूमा खपत हुने बताए ।

दक्षिण अफ्रिका बाहेक थाइल्याण्डले अन्य धेरै अफ्रिकी देशहरूमा पनि चामल बेच्ने गर्दछ । थाइल्यान्डका वाणिज्यमन्त्रीले पनि अफ्रिकी मुलुकमा थाई चामलको माग रहेको बताउँछन् । थाई सरकारले लिलामीको घोषणा गरेपछि अफ्रिकाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यो चामलको बारेमा आफ्नो डर व्यक्त गरिरहेका छन् ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भन्छन्- ‘सामान्य रूपमा अफ्रिकालाई डम्पिङ ग्राउन्डको रूपमा प्रयोग गरिएको छ ।’

अर्कोतर्फ केन्या सरकारले मापदण्ड पूरा गर्ने र प्रयोगशालामा परीक्षण गरिसकेका चामल मात्रै आयात गर्न दिने घोषणा गरेको छ । लिलामी विजेता कम्पनी ‘भी८ इन्टरट्रेडिङ’ले चामल खरिद सम्झौताका लागि ३० दिनको समय पाएको छ । बीबीसी