बाइकको पछाडि बस्नेले मापसे गर्दा बीमा रकम नपाएपछि…

  २०८१ असार १४ गते ११:३३     सीआर भण्डारी

काठमाडौं । २०८० मंसिर १९ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-९ का मुकेश ऐर (नाम परिवर्तित) घुम्नका लागि ललितपुरको लाकुरी भञ्ज्याङ्ग पुगे । काठमाडौंमा अध्ययन गरिरहेका उनलाई आफन्त पर्ने प्रवेश ठगुन्ना (नाम परिवर्तित) ले घुम्न जाने प्रस्ताव गरेपछि उनीहरू मोटरसाइकलमा लाकुरी भञ्ज्याङ्ग पुगेका थिए ।

उनीहरू दिनभर लाकुरी भञ्ज्याङ्गमा घुमे । साँझ कोठा फर्कँदै थिए । ललितपुरको महालक्ष्मी नगरपालिको लामाटारमा मोटरसाइकल दुर्घटना भयो । मोटरसाइकल दुर्घटनामा परेपछि दुवै जनालाई प्रहरीले उद्दार गरी अस्पताल लग्यो । गम्भीर घाइते दुवैजनाको उपचारमा लाखौं रकम खर्च भयो ।

जगदम्बा क्रेडिट एण्ड इन्भेष्टमेन्टमा फाइनान्सिङ्ग गरेर मोटरसाइकल किनेका मुकेशले यूनाइटेड अजोड इन्योरेन्समा मोटरसाइकलको फुल (पूर्ण)बीमा गराएका थिए । दुवै जनाको उपचारमा लाखौं खर्च भएपछि मुकेशका बुबाले बीमा कम्पनीमा गएर बीमा दाबी गरे ।

बीमाबाट आएको रकमले केही राहत हुने अपेक्षासहित २०८० मंसिर २४ गते मुकेशका बुबाले बीमा कम्पनीमा दाबी भुक्तानीका लागि निवेदन दिए । सुरूमा चालक मुकेशको दाबी भुक्तानीका लागि मात्रै बीमा कम्पनीमा कागजहरू पेस गरेका थिए । सबै प्रक्रिया पुर्याएका मुकेशका बुवाले मोटरसाइकलको पछाडि बसेका प्रवेशको दाबी भुक्तानीका लागि कागज पेस गरेका थिएनन् ।

बीमा कम्पनी र बीमा सम्बन्धी जानकार व्यक्तिले बाइकको पछाडि बस्नेले समेत दाबी भुक्तानी पाउँछन् भनेर जानकारी गराएपछि प्रवेश ठगुन्नाका कागजहरूसहित दाबी भुक्तानीका लागि बीमा कम्पनीमा आवेदन दिए । मुकेशको बीमा दाबी रकम भुक्तानी गर्न कम्पनी तयार थियो । तर, जब ठगुन्नाका कागजहरू बीमा कम्पनीले प्राप्त गर्याे तब बीमा दाबी भुक्तानी दिन अस्वीकार गर्याे ।

बीमा कम्पनीले प्रवेश ठगुन्नाको हस्पिटल रिपोर्ट अध्ययन गर्दा मादक पदार्थ सेवन (मापसे) गरेको भेटाएपछि दाबी भुक्तानी नदिने जानकारी मुकेशका बुबालाई गरायो । तर, उनले भने चालक (मुकेश) ले मापसे नगरेकोले बीमा दाबी भुक्तानी पाउनु पर्ने अडान राखे ।

मोटरसाइकल चलाउने चालक र पछाडि बस्ने व्यक्तिमध्ये कुनै एक व्यक्तिले मापसे गरेको छ भने बीमा कम्पनीको दायित्व नहुने मोटरसाइकल बीमा लेखमा सर्त राखिएको विषय कम्पनीले उनलाई देखायो । मेडिकल रिपोर्टमा मोटरसाइकल चालक मुकेशले मापसे नगरेको भएपनि पछाडि बस्ने ठगुन्नाले भने मापसे गरेको देखाएको थियो ।

ठगुन्नाले मापसे गरेका कारण दुवै जनाले बीमा दाबी भुक्तानी रकम पाउनबाट बञ्चित भएको कम्पनी स्रोतको भनाइ छ । बीमा कम्पनीका अनुसार ग्राहकको इच्छाअनुसार सवारीको थर्डपार्टी र फूल बीमा गर्न पाउँछन् । यदि थर्ड पार्टी बीमालेख खरिद गर्याे भने दुर्घटनापश्चात् (मापसे नगरेको अवस्थामा) चालक, पछाडि बस्ने व्यक्ति र तेस्रो पक्षलाई क्षति भएको अवस्थामा सबैले बीमा दाबी भुक्तानी पाउँछन् । तर, मोटरसाइकल क्षतिको भने दाबी पाउँदैनन् ।

साथै फुल इन्स्योरेन्स पोलिसी खरिद गरेको छ भने दुर्घटनापश्चात् (मापसे नगरेको अवस्थामा) मोटरसाइकलसहित सबै पक्षले बीमा दाबी भुक्तानी पाउने व्यवस्था छ । तर, चालक वा पछाडि बस्ने मध्ये एक जनाले मापसे गरेको अवस्थामा दुर्घटनाबाट हुने क्षतिको भुक्तानी बीमा कम्पनीले गर्न बाध्यकारी हुँदैन । तर, तेस्रो पक्षलाई क्षति भएको अवस्थामा भने कम्पनीले भुक्तानी गर्ने गरेको कम्पनीले जानकारी दिएको छ ।

यस घटनामा मुकेश ऐर मोटरसाइकल चालक थिए भने प्रवेश ठगुन्ना मोटरसाइकल पछाडि बसेका थिए । चालक मुकेशले मापसे नगरेको भएपनि ठगुन्नाले मापसे गरेको कारण उनीहरूले बीमा दाबी भुक्तानी पाएनन् । मोटरसाइकल दुर्घटनामा तेस्रो पक्षलाई क्षति नभएको कारण बीमा कम्पनीले पनि दाबी भुक्तानी गर्नु पर्ने दायित्व नथपिएको कम्पनीको भनाइ छ ।

तर, मुकेशका बुबा भने यो विषयको उजुरी गर्न बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरण पुगेका छन् । उनले प्रहरीको रिपोर्टमा मापसे गरेर नभई बाइकको ब्रेक फेल भई दुर्घटना भएको हुनाले आफूले दाबी भुक्तानी पाउनु पर्ने माग गर्दै प्राधिकरण पुगेका हुन् । यस विषयमा प्राधिकरणले अध्ययन गरेपछि मात्रै मुद्दाको किनारा लाग्ने प्रतिक्रिया दिएको छ ।

‘के आधारमा मापसे भनिएको हो अस्पतालसँग त्यसको प्रमाण माग्छौं, मेडिकल चेकअप भयो कि भएन ? अध्ययन गरेर निर्णय गर्छौं, प्रमाणमा मापसे गरेको छ भने दाबी पाइँदैन । तर, ल्याब टेस्ट गर्दा मापसे गरेको देखिएको छैन भने दाबी भुक्तानी पाउनुहुन्छ,’ प्राधिकरण स्रोतले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.