हिमालयन एभरेष्टको सीईओ बन्न दर्जन व्यक्ति लाइनमा, असुरक्षा सबैको चिन्ता

  २०८१ असार १९ गते ११:१९     सीआर भण्डारी

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले यही असार १३ गतेदेखि लागु हुने गरी विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बर्खास्त गर्यो । त्यसपछि कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले आफ्नै नातेदार अन्जु श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएका छन् ।

श्रेष्ठ सोही कम्पनीमा डेपुटी सीईओको भूमिकामा थिइन् । तर, कम्पनीले उनलाई सीईओको जिम्मेवारी दिने छाटकाँट भने छैन । किनकि श्रेष्ठलाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिएन, निमित्त सीईओको जिम्मेवारी मात्र दियो । स्रोतका अनुसार श्रेष्ठलाई सीईओ बन्ने चाहाना पनि छैन । तत्कालीन सीईओ विजयबहादुर शाहले कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठलाई खुसी बनाउन नातेदार श्रेष्ठलाई डेपुटी सीईओमा नियुक्त गरेका थिए ।

नयाँ सीईओको खोजी

कम्पनीको अध्यक्ष श्रेष्ठ आफै बीमा बुझेका व्यक्ति हुन् । लगानीकर्ता आफै कार्यकारी प्रमुख हुन रोक लगाउनुपूर्व उनी तत्कालीन हिमालयन जनरल इन्स्योरेन्समा कार्यकारी प्रमुख नै थिए । उनले कम्पनी व्यवस्थापन पनि जानेका छन् । त्यसैले उनका अगाडि जो कोहीलाई काम गर्न गाह्रो छ । त्यसको प्रमाण उनैले दिइसकेका छन् । तत्कालीन हिमालयन जनरल इन्स्योरेन्सको सीईओ सुशील बज्राचार्यलाई कार्यकाल पूरा नहुँदै छोड्न बाध्य पार्नु र विजयबहादुर शाहलाई कार्यकाल पूरा नहुँदै बर्खास्त गर्नु महेन्द्रको अण्डरमा जो कोहीलाई काम गर्न गाह्रो छ भन्ने उदाहरण हो ।

अचानक बर्खास्तमा परेका विजयबहादुर शाहले बीमा प्राधिकरणमा न्याय माग्दै निवेदन दिएका छन् । प्राधिकरणबाट नसल्टेमा उनी अदालत पनि जान सक्ने जानकारहरू बताउँछन् । यो प्रक्रिया किनारा नलाग्दै कम्पनीले नयाँ सीईओ नियुक्ति गर्न कठिन हुन्छ । यद्यपि, कम्पनीले नयाँ सीईओ कसलाई बनाउला भन्ने अड्कलबाजी सुरु भएको छ ।

‘शाहको मुद्दामा किनारा लागेको छैन, त्यसैले अहिले नै को सीईओ बन्छ भनेर विश्लेषण गर्नु हतार हुन सक्छ,’ कम्पनीको सीईओ बन्ने लाइनमा रहेका एक पूर्वसीईओले भने, ‘प्राधिकरणले नै शाहलाई कम्पनीको सीईओमा कायम राख्न निर्देशन दिन सक्छ, तर उनी धेरै दिन बस्दैनन् होला, त्यसपछिको लबिङ गर्ने बाटो छँदैछ ।’

बर्खास्तमा परेका विजयबहादुर शाहका कति गल्ती, कमजोरी छन् ? भन्ने विषय सार्वजनिक भएका छैनन् । तर, हिमालयन एभरेष्टकाे सञ्चालक समितिले गरेको बलण्डर सबैको सामु छर्लङ्ग छ । सीईओ शाहलाई सफाइको मौका नदिई बर्खास्त गर्नु सञ्चालक समितिको बलण्डर थियो । त्यसैका आधारमा शाहले नियामक वा न्यायिक निकायबाट पुर्नबहाली प्राप्त गर्नसक्ने सम्भावना छ । शाह न्यायिक निकायको निर्णयका आधारमा फर्किए भने पनि उनी उक्त कम्पनीमा लामो समय रहने सम्भावना कम छ । त्यसैले कम्पनीमा नयाँ सीईओको खोजी हुनु स्वभाविक हो ।

को-को छन् लाइनमा ?

कम्पनीको सीईओ बन्न बीमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसहित पूर्वसीईओ समेत आकांक्षी देखिन्छन् । विभिन्न कम्पनीमा हाल कार्यरत नायब प्रमुख कार्यकारी अधिकृतहरू पनि सीईओको प्रस्ताव आएमा आफू तयार रहेको स्वीकार गर्छन् । तर, हालसम्म त्यस्तो प्रस्ताव नआएको उनीहरूको भनाइ छ ।

राजुरमण पौडेल

बीमा प्राधिकरणको कार्यकारी निर्देशकबाट ७ वर्षे कार्यकाल पूरा गरी हालसालै अवकाश पाएका राजुरमण पौडेल हिमालयन एभरेष्टको सीईओ बन्ने प्रबल दाबेदार हुन् । र, यदि उनले चासो दिएमा सम्भावना पनि बलियो रहेको देखिन्छ । तीन दशक बीमा क्षेत्रको नियामक बीमा प्राधिकरणमा कार्यरत पौडेलले गत जेठ १२ गते अवकाश पाएका थिए । पौडेलले आफूलाई हालसम्म सीईओ बन्नका लागि कुनै प्रस्ताव नआएको बताए । तर, यदि प्रस्ताव आएमा छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।

सुशील बज्राचार्य

साविक हिमालयन जनरल इन्स्योरेन्स (हाल हिमालयन एभरेष्ट) का पूर्वसीईओ सुशील बज्राचार्य पनि सीईओ बन्न लबिङ गरिरहेको बुझिएको छ । वि.सं २०७६ साउन १ गते साविक हिमालयन जनरलको सीईओमा दोस्रोपटक ४ वर्षका लागि नियुक्त भएका थिए । दोस्रो कार्यकालको डेढ वर्ष अगावै वि.सं २०७८ माघ मसान्तमा कम्पनीबाट विदा पाएका बज्राचार्य अहिलेसम्म खाली छन् । अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले विजयबहादुर शाहलाई सीईओ बनाउनैका लागि बज्राचार्यलाई बिदा गरेका थिए । आफ्नो अगाडि एसम्यान बन्ने बज्राचार्यलाई अध्यक्ष महेन्द्रले पुनः फर्काउन सक्ने जानकारहरू बताउँछन् ।

‘कम्पनीमा ठूलो समस्या दखिँदैन, अध्यक्षले जे भन्यो त्यही नमानेकोले सीईओबाट शाहलाई हटाएको जस्तो देखिन्छ, अब पहिलाको एसम्यानलाई ल्याउन सक्छन् श्रेष्ठले,’ अध्यक्षलाई नजिकबाट चिन्ने एक जना लगानीकर्ताले भने ।

कमल गौतम

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) बाट राजीनामा दिएर बिदा भएका कमल गौतम सीईओमा फर्कन सक्ने अनुमान पनि धेरैको छ । मर्जरपूर्व एभरेष्ट इन्स्योरेन्सको लगानीकर्ता, मुलतः राजेन्द्र खेतान समूहले गौतमलाई फर्काउन चाहेका छन् ।

मर्जरपछि सीईओ छोडेर सिनियर डीसीईओ भई काम गर्न तयार भएका गौतमलाई पहिला राजीनामा दिन बाध्य पार्नु र गौतमलाई राजीनामा दिएको ४ महिना नबित्दै शाहलाई बर्खास्त गर्नुलाई अध्यक्ष श्रेष्ठको योजनाबद्ध र सिलसिलेबार निर्णय भएको पनि खेतान समूहको बुझाइ छ ।

‘शाहलाई बिदा गरेपछि सीईओमा गौतमको दाबी नहोस् भन्नका लागि पहिले नै गौतमलाई राजीनामा गर्न बाध्य पारिएको जस्तो देखिन्छ, त्यसैले अध्यक्ष श्रेष्ठले गौतमलाई सीईओमा फर्काउने सम्भावना कम भयो,’ खेतान समूहका एक सदस्यले भने ।

गौतमले रुग्ण अवस्थामा पुगेको एभरेष्ट इन्स्योरेन्सलाई राम्रो अवस्थामा पुर्याएका थिए । त्यसैले खेतान समूह वा तत्कालीन एभरेष्टका सेयरधनी तथा कर्मचारीहरू गौतमलाई फर्काउन चाहन्छन् ।

रमेशकुमार भट्टराई

रमेशकुमार भट्टराई पनि हिमालयन एभरेष्टको सीईओ बन्न लबिङमा रहको स्रोतले बतायो । भट्टराईले साविक यूनाइटेड इन्स्योरेन्समा कायमुकायम सीईओ भएर काम गरिसकेका छन् । पछि उनी लुम्बिनी जनरल इन्स्योरेन्समा डेपुटी सीईओ भएका थिए । तत्कालीन लुम्बिनी जनरल इन्स्योरेन्स सगरमाथा इन्स्योरेन्समा मर्ज हुने भएपछि उनी बाहिरिएका थिए ।

कुमारबहादुर खत्री

साविक अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्री पनि यस कम्पनीको सीईओ बन्ने लाइनमा छन् । साविक अजोडमा दुई कार्यकाल सीईओ बनेका खत्री मर्जरपश्चात् यूनाइटेड अजोडमा वरिष्ठ डीसीईओ बनेका थिए । मर्जरपश्चात् विवाद सिर्जना भएपछि खत्रीले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएपनि हिसाब फरफारकको पत्र भने पाउन सकेका छैनन् । कम्पनी स्रोतका अनुसार खत्रीको लेनदेनको काम बाँकी छ ।

र, अरु पनि

विभिन्न कम्पनीका डेपुटी सीईओहरूको पनि ध्यान हिमालयन एभरेष्टको रिक्त सीईओ पदमा पुगेको छ । सम्बन्धित कम्पनीमा भएको जागिर धरापमा पर्ने भएकाले उनीहरूको नाम उल्लेख गर्नु उपयुक्त भएन । तर, उनीहरूले विभिन्न विधिबाट लविङ सुरु गरिरहेका छन् । उनीहरूको लागि मुख्य चिन्ताको विषय भनेको सुशील बज्राचार्य र विजयबहादुर शाहलाई जस्तै आफूलाई पनि कार्यकाल पूरा नहुँदै कम्पनीले जागिरबाट हटाउने हो कि भन्ने रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.