होस्टल : सुविधा सम्पन्न एक सुरक्षित घर

  २०८१ असार २० गते १४:३२     सुनिता लाकौल

एसईईको नतिजा प्रकाशन भएसँगै गाउँ छोडेर विद्यार्थी सहर पस्न थालेका छन् । आ-आफ्नो योजना अनुसार विषय छनोट गर्दै पढ्न सहर पसेका विद्यार्थी कोही कोठा भाडामा लिएर बस्छन् भने धेरै जसो छात्रावास (होस्टल)मा पनि बस्ने गर्छन् । विद्यार्थीहरूकै लागि विभिन्न ठाउँमा छात्र अथवा छात्रावासहरू सञ्चालनमा आएका छन् । घर छोडेर बाहिर बस्दा अझ होस्टेलमा बस्दा विद्यार्थी र अभिभावकहरूले धेरै कुरामा ध्यान दिनुपर्छ ।

विद्यार्थीका लागि होस्टल राम्रो र सुरक्षित ठाउँ हो । तर, यति हुँदा हुँदैपनि कहिलेकाहीँ नराम्रा दुर्घटना भएका समाचारहरू पनि सुन्नमा आउँछन् । होस्टलमा बस्दा विद्यार्थीलाई सजिलो भएपनि धेरै कुरामा ध्यान आवश्यक हुन्छ । यहाँ रहँदा विद्यार्थीले नियम कानुनमा बस्नुपर्छ । होस्टल र विद्यार्थीले तिर्ने शुल्क हेरर विद्यार्थीले पाउने सेवा सुविधा छुट्टाछुट्टै हुन्छन् । होस्टलमा बसेका विद्यार्थीले खाना पकाउन पर्दैन, लुगा पनि धुन पर्दैन । यो भनेको उनीहरूका लागि पढ्न प्रयाप्त समय हुनु हो । होस्टलमा बस्ने, खाने, लुगा धुने सबै सुविधा एउटै छतमा पाउँछन् । सुरक्षा पनि पाउँछन् । कोठामा एक्लै बस्नु भन्दा साथीहरूसँग होस्टेलमा बस्दा सुरक्षित पनि भइन्छ ।

विद्यार्थीले के कुरामा ध्यान दिने ?

हामी जोकोही पनि अनुशासनमा बस्नुपर्छ । अझ विद्यार्थीको लागि अनुशासन महत्वपूर्ण हुन्छ । कुनै संघ संस्थामा जोडिँदा व्यक्ति त्यहाँको नियम कानुन अनुसार रहनुपर्छ । होस्टलको हकमा पूर्प-पश्चिम, उत्तर-दक्षिणका विद्यार्थीहरू मिलेर एउटै कोठामा बस्नुपर्छ । त्यसका लागि व्यक्ति मिलनसार हुनुपर्छ । होस्टलको आचारसंहिता अनुसार यहाँ बस्ने विद्यार्थीले साथीहरू ल्याउन र होहल्ला गर्न मिल्दैन । होस्टलमा अरुको कोठामा जान समेत पाइँदैन ।

बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बाहिर जाने काम परे जानकारी गराइ निस्कन मिल्ने भएपनि राति भने निस्कन मिल्दैन । यस्तो नियम सबै होस्टलमा हुन्छ । तर, अहिलेका विद्यार्थीलाई नियममा बस्न मन पर्दैन । उनीहरू स्वतन्त्र हुन मनपर्छ । आफूले मन लागेका ठाउँ जाने, काम गर्ने गरिरहेका विद्यार्थीलाई होस्टलमा बस्न गाह्रो हुन्छ । यस्तै विद्यार्थीले धुम्रपान, मध्यपान गर्न मिल्दैन । तर, आजभोलिका बालबालिका विद्यालयमै हुँदा चुरोट, ई-सिगरेटको लतमा फसेका हुन्छन् । यस्ता विद्यार्थीहरू एउटा नियममा बाँधेर राख्न होस्टललाई पनि चुनौती हुन्छ । होस्टलमा बस्न विद्यार्थीले यस्ता कुरामा सुधार गर्नुपर्छ ।

पारिवारिक वातावरण हुनुपर्छ

विद्यार्थी बस्ने होस्टलमा पारिवारिक वातावरण हुनुपर्छ । जहाँ बस्दा विद्यार्थीलाई घरमै बसे जस्तो महसुस गरोस् । यसका लागि होस्टलले विद्यार्थीका कुरा सुन्ने, समस्या पर्दा सहयोग गर्नेदेखि विभिन्न चाडपर्वमा रमाइलो गर्ने वातावरण बनाउनुपर्छ धेरैजसो होस्टलमा यो गरिन्छ पनि । यस्तो गर्दा बच्चाहरूलाई घरबाट टाढा भएको महसुस हुँदैन । यहाँ पूर्वपश्मिका, फरक जातजाती, धर्म र संस्कृतिका विद्यार्थी एउटै कोठामा बस्नुपर्छ । त्यसो हुँदा एक जातीले अर्को जातीको धर्म संस्कृति पनि जान्ने र बुझ्ने मौका हुन्छ ।

यसले पनि विद्यार्थीको सिकाइमा धेरै ठूलो प्रभाव पार्छ । होस्टल सञ्चालकहरूले पनि सबै विद्यार्थीहरूलाई एकनासको व्यवहार गर्नुपर्छ । यस्तो व्यवहार वातावरण भए विद्यार्थीलाई पनि सहज हुन्छ भने सञ्चालकहरूलाई पनि सजिलो हुन्छ ।

समयको बचत

होस्टलमा बस्दा विद्यार्थीको समयको बचत हुन्छ । पढाइको लागि घर छोडेर बाहिर आएका विद्यार्थीलाई एकातिर पढाइको चिन्ता अर्कोतिर कतिबेला खाना पकाउने, लुगा धुने र सरसफाइ गर्ने भन्ने पीर हुन्छ । होस्टलमा बस्दा यस्ता कुराको चिन्ता लिनु पर्दैन । पढाइको लागि धेरै समय पाउन सक्छ । घर छोडेर आइसकेपछि सबै काम विद्यार्थी आफैले गर्नुपर्ने हुन्छ । कतिपय विद्यार्थीलाई यति गर्न गाह्रो हुन्छ ।

सीमित स्रोत साधनमा सबै कुरा राम्रा छन् । होस्टलमा बस्दा नियममा बाँधिनु पर्छ घरमा बस्दा जस्तो स्वतन्त्र हुँदैन । यो एउटा विद्यार्थीका लागि आवश्यक पनि हो । होस्टलमा बस्न विभिन्न ठाउँबाट विद्यार्थी आउँछन् । एउटै कोठामा धेरै जनाले मिलेर बस्नुपर्छ । विभिन्न परिवेशबाट आएका विद्यार्थी एउटै ठाउँमा बस्दा रुम सेयरिङ गर्न पनि सिक्छन् । यो पनि एउटा सिकाइ हो । यहाँ विद्यार्थीले सेयरिङ, केयरिङ सबै कुरा सिक्छन् । विद्यार्थी होस्टलमा बस्दा धैर्य गर्न, सहकार्य गर्न सिक्छन् भने अर्कोलाई सम्मान गर्न, एउटा अनुशासित भएर बस्न सिक्छन् । कतिपय विद्यार्थीहरू अलग परिवेशबाट आएर पनि होस्टलमा बस्दा निकट भइसकेका हुन्छन् ।

यतिसम्म पनि हुन्छ कि होस्टल बाहिर गएपनि पनि उनीहरूको सम्बन्ध सधैं निकट हुन्छ, यो पनि विद्यार्थीको लागि राम्रो सिकाइ हो । आजभोलि प्रायः परिवारमा आमाबुवा छोराछोरी मात्र हुन्छन् । अझ कतिपय दम्पतीको एक्लो बच्चा हुन्छ । यस्तो परिवारमा बसेको बच्चा होस्टेलमा बस्दा उसलाई समुदायसँग घुलमिल हुन पनि सजिलो हुन्छ ।

एक अर्काको सम्मान गर्न सिकाइ हुन्छ । घरमा आमाबुवाले सिकाउन नसक्ने कुरा पनि होस्टलमा बस्दा विद्यार्थीले सिकेका हुन्छन् । यसले विद्यार्थीको व्यक्तिगत रुपमा पनि परिर्वतन ल्याउँछ । कक्षामा गएर विद्यार्थीले पाठ्य पुस्तकमा लेखेका कुरा पढ्छन् भने होस्टलमा बस्ने धेरै विद्यार्थीले व्यवहारिक कुरा पनि सिक्छन् ।

होस्टलमा बस्दा केटाकेटी बिग्रन्छन् ?

होस्टलमा बस्दा विद्यार्थीको सिकाइ बढ्छ भने कतिपय केटाकेटी होस्टेलमै बसेर बिग्रेको अथवा नराम्रा दुर्घटना भएको कुरा पनि सुन्नमा आउँछ । यसको मतलब यस्ता घटना हुँदैन भन्ने होइन । कहिँलेकाहीँ यस्ता घटना पनि हुन्छन् । तर, यस्ता घटना हुन नदिन कसले के गर्नुपर्छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ । यस्ता घटना हुनुमा विद्यार्थी, सञ्चालक सबैको दोष हुन्छ । होस्टल केटा र केटीका लागि छुटछुट्टै हुन्छन् । एउटा होस्टेलमा ४०/५० जना विद्यार्थी हुन्छन् । यसमा सबै विद्यार्थी राम्रा हुन्छन् भन्ने पनि हुँदैन, सबै नराम्रा हुन्छन् भन्ने पनि मिल्दैन ।

कहिलेकाँही एक दुई जना विद्यार्थीले गरेको गल्तिले पनि होस्टेललाई हेर्ने नजर नराम्रो भइदिन्छ । अनेक थरिका विद्यार्थी आएर कहिलेकाहीँ घटनाहरु पनि हुन्छन् । यसमा सबैले सहकार्य गरेर लाग्नुपर्छ । कतिपय विद्यालयल सञ्चालनमा ल्याएका होस्टलमा स-साना बालबालिकालाई पनि राख्ने गरिन्छ ।

सानैदेखि होस्टलमा राख्नु राम्रो होइन

एसईईपछि होस्टलमा बस्दा राम्रै भएपनि सानै उमेरदेखि बालबालिकालाई अभिभावकबाट टाढा राख्नु भने त्यति राम्रो होइन । बालबालिकालाई समय दिन नसक्ने कतिपय व्यस्त दम्पति सानै उमेरमा छोराछोरीलाई होस्टलमा राख्ने गर्छन् । यसरी राखिएका बालबालिकामा कहिलेकाँही नराम्रो घटना भएको पनि सुन्ने गरिन्छ । केही समय अगाडि चितवनमा एउटी छात्राले आत्हत्या गरेको घटना बाहिर आएको थियो । यसमा सम्बन्धित अभिभावक र सञ्चालकसँगै राज्यले पनि ध्यान दिनुपर्छ ।

तर, एसईई दिइसकेका विद्यार्थी वा प्लसटु सकेका विद्यार्थीका लागि भने होस्टल उपयुक्त मानिन्छ । कुनै होस्टलमा यस्ता घटना हुन नदिन यस सँग सम्बन्धित संघ संस्थाले कडा एक्सन लिनुपर्छ । कतिपय होस्टलमा बस्ने विद्यार्थीलाई मानसिक समस्या देखिन्छ । यही समस्याका कारण पनि कहिलेकाहीँ नराम्रा घटना भएको सुन्नमा आउँछ । कहिलेकाहीँ चोरी भएका घटनाहरू पनि आउँछन् । यस्ता घटनाहरु भइरहँदा कहिँलेकाहीँ सञ्चालकलाई घटना बारे थाहा नै हुँदैन ।

कहिलेकाहीँ सबैभन्दा इमान्दार र राम्रो भनिएको विद्यार्थीले पनि होस्टलमा बसेर आत्महत्या गरिरहेका हुन्छन् । यस्ता विषयमा ध्यान दिनुपर्छ । मानसिक स्वास्थ्य समस्याका विषयलाई पनि होस्टल सञ्चालकले ध्यान दिनुपर्छ । जाडो महिनामा हुने ग्यास गिजर पड्किने घटना पनि कहिलेकाँही होस्टेलमा हुन्छन् ।

होस्टलले के गर्ने ?

केटाकेटी जहिले पनि आफू स्वतन्त्र हुन चाहन्छन् । कसैलाई रोकतोक मन पर्दैन । तर, पनि होस्टल सञ्चालकहरूले पनि यस्तो बेला आफ्नो विद्यार्थीको अवस्था के छ उनीहरू के गरिरहेका छन् भन्ने कुरामा ध्यान दिनुपर्छ । होस्टलमा रहेका सबै विद्यार्थीलाई एउटै व्यवहार गर्नुपर्छ । कसैलाई समस्या छ भने सोध्नुपर्छ । कहिलेकाँही परिवारलाई सेयर गर्न नसक्ने कुराहरू पनि विद्यार्थीले गर्न सक्छन् । यस्ता कुरा सञ्चालकहरूले अभिभावकको भूमिका निर्वाह गर्ने गरि सुनिदिनुपर्छ । सञ्चालकले कहिलेकाहीँ अभिभावक र विद्यार्थीको समन्वय गर्ने भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ ।

विद्यार्थीले के गर्ने ?

होस्टलमा बस्ने विद्यार्थीले होस्टलको नियममा बस्नुपर्छ । राति महत्वपूर्ण काम नपरी बाहिर निस्कनु हुँदैन । जानै परे नियमअनुसार फर्म भरेर जानुपर्छ । बाहिर निस्कन परे जानकारी गराउने गर्नुपर्छ । कुनै पनि होस्टलको आफ्नै नियम हुन्छ । त्यही परिधिभित्र रहेर विद्यार्थीले बस्नुपर्छ । नियम अलि कडा गर्दा बच्चाहरूलाई मन पर्दैन । कहिलेकाँही तलमाथि केही भयो भने सञ्चालकहरूमाथि नै प्रश्न उठ्छ । बच्चाहरूलाई अनुशासनमा राख्न सक्नु ठूलो कुरा हो ।

यो धेरै गाह्रो हुन्छ । तर, पनि राख्नुपर्छ । दिउँसो बाहिर जाने छुट हुन्छ । बिहान ७ बजेदेखि साँझ ७ सम्म आउन जान जान दिन्छ । तर, रातिको हकमा आवतजावत गर्न मिल्दैन । होस्टलमा बस्ने विद्यार्थीले यस्तो मानसिकता चाहिँ राख्नुपर्छ ।

अनुगमन हुनुपर्छ

कतिपय बनाएका नियम कानुन सबै होस्टलमा लागु नभएको पनि हुन सक्छ । यसका लागि सम्बन्धित निकायले बेलावखत अनुगमन गर्न आवश्यक छ । धेरै होस्टल दर्ता बिनै सञ्चालनमा आएका हुन्छन् । त्यस्ता होस्टलले विद्यार्थीलाई सेवा दिन भन्दा पनि व्यापारिक प्रयोजनाका लागि सञ्चालन गरिरहेका हुन्छन् । काठमाडौं उपल्यकामा पनि दर्ताबिना धेरै होस्टल सञ्चालनमा आएको कुरा सुनिन्छ । यस्तो बेला विद्यार्थी अभिावकले ध्यान दिनुपर्छ ।

कुनैपनि अभिभावले आफ्ना बच्चाहरूलाई होस्टलमा राख्नुअघि र विद्यार्थी आफूले आउनु अघि होस्टल दर्ता भएको हो वा होइन भन्ने कुरा पत्ता लगाउन आवश्यक छ । यदि यो कुरामा ध्यान दिइएन भने पनि जोखिमपूर्ण घटनाहरू पनि हुन सक्छन् । उपत्यका लगायत विभिन्न सहरमा सञ्चालनमा आएका होस्टल सबै विद्यार्थीका लागि मात्र छैनन् । कतिपय होस्टल पर्यटकका लागि कतिपय विद्यार्थीका लागि गरेर विभिन्न खालका होस्टलहरू सञ्चालनमा छन् ।

अभिभावकको भूमिका

घरपरिवारमा बस्दा आफ्नो बच्चाको हेरबिचार कति गरिन्छ, त्यस्तै आवश्यक हेरविचार आफ्नो बच्चा होस्टलमा छ भनेपनि अभिभावकले गर्नुपर्छ । समयमा खाना खाए नखाएको, समयमै होस्टल आए नआएको, उसको पढाइ लगायतका सबै विषयमा टाढा भएपनि अभिभावकले फोन, फेसबुकजस्ता सामाजिक सञ्जालबाट नियमित सम्पर्कमा रहनुपर्छ ।

बिरामी हुँदादेखि खानपानसम्मको केयर अभिभावकले राख्नुपर्छ । होस्टल एउटा विद्यार्थीका लागि राम्रो ठाउँ हो । जसले बस्न खान सही वातावरण दिन्छ । यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ । समाजले हेर्ने नजर पनि राम्रो बनाउनुपर्छ ।

(होस्टल एसोशिएसन नेपालकी अध्यक्ष सुनिता लाकौलसँग इन्द्रसरा खड्काले गरेकाे कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.