भारतमा पौने २ लाख युनिट घर बिक्री, ११ वर्षकै उच्च

  २०८१ असार २० गते १७:३०     विकासन्युज

काठमाडौं । पछिल्ले समय भारतमा घरजग्गाको माग बढ्दै गएको छ । देशको घरजग्गा बजारले नयाँ उचाइ छुँदै गइरहेको छ ।

पछिल्लो ६ महिनामा भारतको घरजग्गाको रौनक यथास्थितिमै रह्यो । निरन्तर मागका कारण घर बिक्री ११ वर्षकै उच्चमा १ लाख ७३ हजार युनिट पुगेको छ ।

रियल इस्टेट कन्सल्टेन्ट नाइट फ्रयांकले आफ्नो पछिल्लो प्रतिवेदनमा देशका ठूला सहरमा घरजग्गाको विषयमा महत्त्वपूर्ण छलफल भएको बताएको छ ।

भारतको आवासीय बिक्री जनवरीदेखि जुनमा ११ प्रतिशतले बढेको छ । सन् २०२४ पहिलो ६ महिनामा भारतीय घरजग्गा बजार बुलिश रह्यो जसमा घर बिक्री ११ वर्षकै उच्चस्तर १ लाख ७३ हजार युनिटमा पुग्यो ।

नाइट फ्रयांकका अनुसार यस अवधिमा देशका आठ ठूला सहरमा अफिस स्पेसको माग रेकर्ड ३ करोड ४७ लाख वर्गफिट पुगेको छ ।

वार्षिक आधारमा यस वर्ष जनवरी र जुन बीचमा आठ प्रमुख सहरहरूमा घर बिक्री ११ प्रतिशतले बढेर १ लाख ७३ हजार २ सय ४१ युनिट पुगेको छ, जबकि कार्यालय स्थानको माग ३३ प्रतिशतले बढेर ३ करोड ४० लाख वर्गफिटमा पुगेको छ ।

नाइट फ्रयांक इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक शिशिर बैजलले बलियो आर्थिक आधार र स्थिर सामाजिक/राजनीतिक अवस्थाका कारण पछिल्ला केही त्रैमासिकमा भारतको घरजग्गा बजार द्रुत गतिमा बढेको बताए । उनले घर र अफिस स्पेसको माग एक दशकयताकै उच्च भएको जानकारी दिए ।

भारतका शीर्ष सहरहरूको अवस्था

सन् २०२४ को पहिलो त्रैमास (जनवरी-जुन) मा कुल बिक्रीमा प्रिमियम आवासको हिस्सा ३४ प्रतिशत रहेको छ ।

मुम्बईमा घर बिक्री जनवरी-जुन २०२४ मा वार्षिक आधारमा १६ प्रतिशत बढेर ४७ हजार २ सय ५९ युनिट पुगेको छ, जबकि सहरमा अफिस स्पेसको माग ७८ प्रतिशतले बढेर ५८ लाख वर्गफिट पुगेको छ ।

दिल्ली-एनसीआरमा घर बिक्री ४ प्रतिशतले घटेर २८ हजार ९ सय ९८ युनिट भएको छ । यद्यपि, कार्यालय स्थानको माग ११.५ प्रतिशतले बढेर ५७ लाख वर्गफिट पुगेको छ ।

बेंगलुरुमा घर बिक्री ४ प्रतिशतले बढेर २७ हजार ४ सय ४ युनिट पुग्यो, जबकि कार्यालयको माग २१ प्रतिशतले बढेर ८४ लाख वर्गफिट भएको छ ।

पुणेमा आवासीय बिक्री १३ प्रतिशतले बढेर २४ हजार ५ सय २५ युनिट पुगेको छ, जबकि कार्यालय स्थानको माग ८८ प्रतिशतले बढेर ४४ लाख वर्गफिट पुगेको छ ।

त्यसैगरी चेन्नईमा आवासीय माग बढेको र कार्यालय स्थानको मागमा गिरावट आएको छ ।

यस अवधिमा हैदरावाद, कोलकाता र अहमदाबादमा घर र कार्यालय दुवै ठाउँको मागमा वृद्धि भएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.