२०८१ असार २३ गते १४:०९ विकासन्युज
काठमाडौं । सर्वसाधारणका लागि आईपीओ बिक्री गर्ने तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सले चैत मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ ।
मिल्सले चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
तेस्रो त्रैमासको तथ्यांकअनुसार कम्पनी २ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । यो तथ्यांकले ९ महिनाको अवधिमा कम्पनीको मुनाफामा ९७.१३ प्रतिशत गिरावट आएको देखाउँछ ।
यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ छ । गत आर्थिक वर्ष प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ बढी थियो । कम्पनीको प्रतिसेयर आम्दानीमा समेत गिरावट आएको छ ।
तेस्रो त्रैमासमा उद्योगले सञ्चालन मुनाफा ३९ करोड ९७ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षमा सञ्चालन मुनाफा १ अर्ब २४ करोड रुपैयाँभन्दा बढी थियो ।
उद्योगले असार अन्तिम सातादेखि बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणलाई सेयर बिक्री गर्दै छ ।
सुरुमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई ८२०.८ रुपैयाँमा आईपीओ बिक्री हुनेछ । यो आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्तामा आवेदन दिन सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.