अन्नपूर्ण पदमार्गमा १० हजार पर्यटकले घुमफिर गरे

  २०८१ असार २७ गते ७:००     विकासन्युज

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा ६ महिनामा १० हजार ६ सय १३ विदेशी पर्यटक आएका छन् । यी पर्यटक सन् २०२४ जनवरीदेखि जुन महिनासम्म भ्रमणका लागि आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ ।

केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये ६ हजार ४ सय ३५ पुरुष र ४ हजार १ सय ७८ महिला पर्यटक आएको जानकारी दिए । यीमध्ये सबैभन्दा बढी फ्रान्सबाट १ हजार ७४, इजरायलबाट ८ सय ३२, जर्मनबाट ७ सय ८४ पर्यटक आएका छन् ।

यस पदमार्गमा बर्खा लागेसँगै सुनसान भए पनि दैनिकजसो चार–पाँच जना विदेशी पर्यटक आइरहेको केन्द्रले जनाएको छ ।

सन् २०२३ मा २१ हजार २ सय ४७ र सन् २०२२ मा १५ हजार ९ सय विदेशी पर्यटक भ्रमण गर्न यहाँ आएका थिए । सन् २०२२ को तुलनामा सन् २०२३ मा ५ हजार ३ सय ४७ जना विदेशी पर्यटक बढी आएका छन् ।

केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६ सय ४७, सन् २०१८ मा २९ हजार ४ सय ८४, सन् २०१७ मा २१ हजार ६८ पर्यटक अन्नपूर्ण पदमार्गमा आएका थिए ।

सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना संक्रमणको पहिलो लहरसँगै पदमार्ग क्षेत्र प्रभावित भएको थियो । विस्तारै बढ्दो पर्यटक आगमनले यस क्षेत्रका सयौँ स्थानीयले रोजगारीसमेत पाएका छन् ।