नेपाल प्रवेश गर्याे विश्व चर्चित योकोहामा टायर

  २०८१ साउन ४ गते २२:५३     विकासन्युज

काठमाडौं । विश्व चर्चित ब्राण्ड योकोहामा टायर नेपालमा भित्र्याइएको छ । अटो पार्ट्स इन्टरनेशनल (एपीआई)ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्र्याएको हो ।

नेपालका लागि आधिकारिक बिक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरू बिक्री वितरण गर्नेछ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच योकोहामा टायर नेपाली बजारमा प्रवेश गरेको घोषणा गरिएको हो ।

योकोहामा इण्डियाका सीईओ तथा प्रबन्ध निर्देशक हरिन्दर सिंहले नेपाललाई विश्वस्तरीय टायर उपलब्ध गराउने प्रतिवद्धता जनाए । उनले नेपालको भूगोलका लागि उपयुक्त टायर योकोहामा भएको समेत दाबी गरे ।

एपीआईका प्रबन्ध निर्देशक सगुन कंसकारले योकोहामासँगको साझेदारीले उत्साह छाएको बताए । उपभोक्ताहरूलाई गुणस्तरीय टायर उपलब्ध गराउने र नेपालको अटो क्षेत्रको विकासमा जोड दिने उनको भनाइ छ ।

विश्वव्यापी रूपमा योकोहामाले आक्रामक रूपमा टायर उत्पादन गरिरहेको छ । सन् १९१७ मा स्थापना भएको यस कम्पनीले उत्कृष्ट टायर बनाउनुका साथै डिजाइन र प्रविधिको समेत जोड दिने गर्दछ ।