२०८१ साउन १३ गते १६:२१ विकासन्युज
विद्यालयको शैक्षिक गुणस्तरका लागि सुविधासम्पन्न भौतिक पूर्वाधार पहिलो प्राथमिकता भएकाले विद्यालयले तीन वर्षयता पूर्वाधार निर्माणमा जोड दिएको छ । विद्यालयको पूर्वाधारसँगै प्रविधिमैत्री शिक्षण सिकाइ, अतिरिक्त कक्षा, बाल उद्यान, प्रयोगशाला, कम्प्युटर ल्याबलगायत सुविधाका कारण विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत वृद्धि भएको छ ।
शैक्षिक गुणस्तर बढाउन अतिरिक्त कक्षा र प्रविधिमैत्री शिक्षामा जोड दिइएको छ । जस्तापाताले छाएर छाप्रामा अध्ययन–अध्यापन गर्ने समयमा उक्त विद्यालयमा शौचालय अभाव थियो । विद्यालयले तीन वर्षमै पूर्वाधारमा मात्र होइन बागलुङ नगरकै पहिलो बालमैत्री विद्यालयको परिचय बनाएको छ । विसं २०१० सालमा चन्द्रबहादुर थापाले स्थापना गरेको उक्त विद्यालयलाई अहिले उनकै छोरा टीकाराम थापाले हाँकिरहेका छन् । बुबाले स्थापना गरेको विद्यालयलाई नमूना बनाउन सहरबाट गाउँ फर्केर विद्यालय व्यवस्थापन समितको अध्यक्षकशो जिम्मेवारी बहन गरेको उनको भनाइ छ । थापाले आफ्नो तीनवर्षे कार्यकालमा एक करोड ३२ लाख रुपैयाँ खर्चेर विद्यालयलाई भौतिक पूर्वाधारमा नमूना बनाउँदै प्रविधिमैत्री शिक्षालाई जोड दिएको बताए ।
भौतिक पूर्वाधार थपिएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । तीन वर्षमा राष्ट्रपति शैक्षिक सुधारअन्तर्गत ५० रुपैयाँलाख लागतमा चारकोठे भवन निर्माण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १८ लाख रुपैयाँमा दुईकोठे भवन निर्माण, पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १५ लाख रुपैयाँको लागतमा अपाङ्ग र बालमैत्री शौचालय निर्माण, पुनःनिर्माण प्राधिकरणकै सात लाख रुपैयाँमा शुद्ध खानेपानीको व्यवस्था गर्न सफल भएको थापाको भनाइ छ ।
यस्तै, गण्डकी प्रदेश सरकारको सहयोगमा रु सात लाखमा कक्षा कोठामा स्मार्ट टिभीसहितको अध्यापनको व्यवस्था, बागलुङ नगरपालिकाको आठ लाख रुपैयाँ लागतमा एक शिक्षक एक ल्यापटप, कम्प्युटर र विज्ञान प्रयोगशाला र देउसीभैलोबाट संकलन भएर बचत भएको २७ लाख रुपैयाँबाट बाल उद्यान, प्रवेशद्वार, तारबार, खानेपानीलगायतको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए ।
‘विद्यालय ऋणमा डुबेको थियो, भौतिक पूर्वाधारको अभाव थियो, खानेपानी र शौचालयको राम्रो व्यवस्था थिएन, बसाइँसराइको प्रभावले विद्यार्थी घट्दै थिए, दलित समुदायका विद्यार्थी पोसाकबिना आउने गर्दथे,’ उनले भने, ‘एक पटक गाउँ फर्केर विद्यालयमा सुधार गर्नुपर्यो भन्ने सोच आयो, सबैले साथ दिए, देउसीभैलो खेलेर संकलन गरेको रकमले विद्यालयको भौतिक र शैक्षिक सुधारमा खर्च गरियो ।’
अधिकांश दलित समुदायका विद्यार्थीले अध्ययन गर्ने विद्यालयलाई नमूना बनाउन थापाको अभियानलाई शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्दप्रसाद गौतम, स्थानीय जनप्रतिनिधि, बागलुङ नगरपालिका र अभिभावकको आर्थिक, भौतिक र नैतिक सहयोग रहेकाले विद्यालयले मुहार फेर्न सफल भएको वडा सदस्य मनबहादुर नेपालीले बताए । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.