चन्दा मागेर वा ऋण काढेर रत्नराज्यलाई उत्कृष्ट बनाउने प्रण

  २०८१ साउन २० गते १४:०४     इन्द्रसरा खड्का

काठमाडौं । ‘हजुर विद्यालयमै आउनुहोस् न, भेटेरै कुरा गरौं, पहिले विद्यार्थी हेरौं, उहाँको पारिवारिक अवस्था बुझौं, फोनभन्दा पनि भेटेरै कुरा गरौँला है,’ केही समय फोनमा कुराकानी गरेपछि उनले फोन राखे ।

फोन राख्दै उनले हामीसँग भने, ‘हेर्नुहोस्, यसरी फोन आउँछ, विद्यार्थीको संख्या पुगिसकेको हुन्छ, आफ्नो मान्छे भर्ना गरिदिनुपर्यो भनेर बारम्बार यसरी फोन आउँछ,’ गत बुधबार रत्नराज्य माध्यामिक विद्यालयमा पुग्दा प्रधानाध्यापक रामाशिष यादवले यसरी गुनासो गरे ।

यादवलाई हरेक दिन यस्ता धेरै व्यक्तिबाट फोन आउँछ । कोही विद्यार्थीका नेता त कोही राजनीतिक दलका नेता । आफ्ना मान्छेलाई भर्ना गर्दिनु भन्दै उनलाई पटक-पटक फोन आउँछ । तर, उनको एउटै जवाफ हुन्छ, ‘कोटा पुगिसक्यो ।’

रत्नराज्य माध्यामिक विद्यालयले अन्यले सिफारिस गरेका भन्दा पनि पढाइमा अब्बल भएको र आर्थिक अवस्था कम भएका विद्यार्थीलाई मध्यनजर गर्छ । सामुदायिक विद्यालय सबै समुदायका बालबालिकाका लागि पढाइ हुने थलो हो । यसलाई कसैलाई काखापाखा गर्न पाउँदैन । विद्यालयमा भर्ना हुन आएका सबैलाई भर्ना गराउनुपर्छ । तर, रत्नराज्यमा यस्तो अवस्था छैन । स्कुलले विद्यालयमा भर्ना हुन आउने धेरै विद्यार्थी र अभिभावकलाई फर्काउनु परेको छ । कारण विद्यार्थीको धेरै चाप ।

शिशु देखि १२ कक्षासम्म पढाइ हुँदै आएको यो विद्यालयमा विद्यार्थीको संख्या थेगी नसक्नु छ । तर, विद्यालयमा विद्यार्थीको चाप बढाउनुभन्दा सिमितलाई भर्ना गरेर राम्रो नतिजा दिने लक्ष्य विद्यालयको रहेको प्रधानाध्यापक यादव बताउँछन् । अहिले पनि विद्यालयमा २७ सय हाराहारीमा विद्यार्थीको संख्या छ ।

रत्न राज्यलक्ष्मी मावि । तस्बिर : सौगात पुडासैनी ।

‘विद्यालयमा भर्ना हुन आउने सबैलाई हामी लिन सक्दैनौं, किनकि हामीले पनि परिणाम दिनुपर्छ,’ यादव भन्छन्, ‘पढाइमा राम्रो भएका तर पैसा तिरेर अन्य विद्यालय जान नसक्ने विद्यार्थीलाई विश्वस्तरमा बिक्न सक्ने शिक्षा दिने हामी बनाउँछौं, यसका लागि हामी त्यही अनुसार विद्यार्थी भर्ना गर्छौं ।’

काठमाडौंको मध्य बानेश्वरमा अवस्थित यो स्कुल नेपालकै सबैभन्दा उत्कृष्ट सामुदायिक विद्यालयभित्र पर्छ । यो विद्यालय वि.सं.२०१७ बैशाख १६ गते सामुदायिक शैक्षिक संस्थाका रुपमा स्थापित भएको हो । यो विद्यालयमा शिशु कक्षा देखि १२ सम्म अध्यापन गराइन्छ भने नेपाली र अंग्रेजी दुवै माध्यमबाट यो स्कुलले शिक्षा दिँदै आएको छ । तीनवटा ठूला भवन, गेटद्धवारमै मन्दिर । विद्यार्थीका लागि ठूलो मैदान छैन तर हरेक भवनका भित्ता ज्ञानवद्र्धक कुराले रंगिन छन् ।

जहाँ कुनै कविका भनाइ, कुनै वैज्ञानिकका भनाई । जुन कुरा विद्यार्थीका लागि आवश्यक पनि । यो स्कुल सामुदायिक भएपनि यसले दिने शिक्षा निजी विद्यालयभन्दा कम छैन । रत्नराज्य नेपालकै उत्कृष्ट विद्यालयमा पर्छ । विद्यालय उत्कृष्ट कसरी बन्छ ? हाम्रो जिज्ञासामा प्रधानाध्यापक यादवले जावफ दिए, ‘झोला बोकेर विभिन्न ठाउँ घुम्दै गयो भने विद्यालय बन्दैन, विद्यालय बनाउन मन र बचनले पवित्र सोच लिएर लाग्नुपर्छ ।’

यादव विद्यालयलाई उत्कृष्ट बनाउनका लागि बिहानदेखि बेलुकासम्म विद्यालयलाई समय दिनुपर्ने र प्रधानाध्यापकले सबै शिक्षकसँग समान व्यवहार गर्नु पर्ने बताउँछन् । ‘चाह्यो भने नेपालका सबै सरकारी विद्यालय उत्कृष्ट बन्न सक््छन् । त्यसका लागि विद्यालयका प्रधानाध्यापकले अठोट लिन सक्नुपर्छ, विद्यालय उत्कृष्ट बनाउने हो भने राजनीति आक्षेपबाट मुक्त हुनुपर्छ,’ उनले भने ।

विद्यार्थीको चाप

यो विद्यालयमा अहिले करिब २७ सय हाराहारीमा विद्यार्थी छन् । अहिले कक्षा १ मा ६५ विद्यार्थी छन् । यो स्कुलले कक्षा १ देखि ३ सम्म २ वटा शेसन बनाएर अध्ययन गराउँदै आएको छ । सकेसम्म यहाँ कक्षा १,२ र ३ मा कम विद्यार्थी भर्ना गराउने प्रयास स्कुलले गरिरहेको छ । त्यसका लागि अब कक्षामा ३० देखि ३५ जना विद्यार्थी भर्ना गर्नुपर्ने लक्ष्य स्कुलको छ ।

रत्न राज्यलक्ष्मी माविका विद्यार्थी । तस्बिर : सौगात पुडासैनी ।

यहाँ कक्षा १ देखि ४ मा दुई वटा समूह, कक्षा ५ मा तीन वटा, ६ मा ४ वटा, ७ मा ४ वटा र ८, ९ १० ५ वटा समूह बनाएर अध्ययन गर्ने गराइन्छ । विद्यालयको भौतिक संरचना पनि अहिले भएको संख्यालाई मात्र पुग्ने भएकाले धेरै विद्यार्थी गराउन मुस्किल छ । अहिले पनि आधा विद्यार्थीलाई बिहान र आधालाई दिउँसो पढाउने गरी दुई सिफ्टमा विद्यालय सञ्चालन भइरहेको छ । यो स्कुलमा भर्ना हुन आउने विद्यार्थीकोे सबैभन्दा पहिले प्रवेश परिक्षा लिइन्छ । त्यसमा नाम निकाले मात्र भर्ना गरिन्छ ।

‘हामीले धेरै विद्यार्थी भर्ना गर्नुभन्दा यहाँ भर्ना भएका विद्यार्थीलाई कसरी उत्कृष्ट शिक्षा दिने भन्न सोच्छौं,’ उनी भन्छन्, ‘यति भनिरहँदा पनि विद्यार्थीको चाप भने थेगिनसक्नु नै छ, हामी जो आर्थिक रुपमा कमजोर छ, राम्रो स्कुल पढाउन पैसा छैन तर पढ्ने ईच्छा छ भने त्यस्ता विद्यार्थीलाई प्राथमिकता दिन्छौँ ।’

एसईईमा उत्कृष्ट नतिजा

अब्बल सामुदायिक विद्यालयको छवि बनाएको रत्नराज्य लक्ष्मी विद्यालयले एसईईमा पनि राम्रो नतिजा ल्याएको छ । २०८० सालमा लिइएको एसईई परिक्षामा ८५ प्रतिशत विद्यार्थी पास भएको स्कुलले जानकारी दिएको छ ।

परीक्षामा २ सय ५१ विद्यार्थी सहभागी भएका थिए । जसमा २ जना विद्यार्थीले ४ जीपीए ल्याए भने १२ जना विद्यार्थी एक नम्बरले ४ जीपिए ल्याउनबाट असफल भए ।

यो स्कुलले हरेक वर्ष एसईईमा राम्रो नतिजा ल्याउने गरेको छ । प्राचार्य यादव राम्रो नतिजा आउनु पछाडि विद्यार्थीको लगनशिलता र शिक्षकको मिहिनेत भएको बताउँछन् ।

शुल्क लिनैपर्ने बाध्यता

संविधानले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा भनेको छ । तर, शुल्क लिनुपर्ने बाध्यता हरेक स्कुलमा छ । रत्नराज्य माविमा पनि यो समस्या छ । मासिक शुल्क नलिएपनि विद्यालयले वर्षभरी विद्यार्थीबाट निश्चित शुल्क लिने गरेको छ ।

जसमा कक्षा १० का विद्यार्थीबाट वर्षभरिमा प्रतिव्यक्ति ३ हजार ७ सय रकम उठाउने गरेको छ भने त्यही हाराहारीमा हरेक कक्षाका विद्यार्थीबाट शुल्क लिने गरिन्छ । यस्तै कक्षा ११, १२ पढ्ने विद्यार्थीबाट पनि रकम लिने गरेको छ । प्रधानाध्यापक यादवका अनुसार कक्षा ११ मा कुनै पनि विषय लिएर पढ्ने विद्यार्थीले करिब १५ हजारको हाराहारीमा कोर्स पुरा गर्न सक्छन् ।

‘सामुदायिक विद्यालयमा कति विद्यार्थी राख्ने, त्यसका लागि कति शिक्षक चाहिन्छ भन्ने योजना सरकारसँग छैन,’ उनी भन्छन्, ‘संविधानमा शिक्षा निःशुल्क भन्यो योजना भएन, कुन स्कुलमा कुन शिक्षकको अभाव छ, निःशुल्कका लागि त्यही अनुसारकोे शिक्षक व्यवस्थापन गर्न सक्नुप¥यो कागजमा निःशुल्क भनेर लेखेर मात्र हुँदैन ।’ यादव यसका लागि राज्यले योजना बनाउँदा तल्लो तहबाटै बनाउनुपर्ने बताउँछन् ।

उनी योजनाबिनाको काम कहिले पुरा नहुने बताउँदै राज्यले नै यसको जिम्मा लिनुपर्ने बताउँछन् । रत्नराज्यको हकमा सबै भन्दा ठूलो सहयोग शिक्षकले गरेको उनी बताउँछन् ।

रामाशिष यादव, प्रधानाध्यापक, रत्नराज्य माध्यामिक विद्यालय । तस्बिर : सौगात पुडासैनी ।

बाहिर ५० हजार वा एक लाख रुपैयाँ तलब खाने शिक्षक यहाँ ७ हजारमा एक विषय पढाइदिन तयार हुन्छन्, स्कुललाई शिक्षकहरूले पनि सेवा गरिरहनु भएको छ, हामीले विज्ञान विषयका विद्यार्थीलाई शनिबार पनि कक्षा लिएर पढाउने गरेका छौं,’ उनले भने ।

११ मा धेरै विद्यार्थी लिने प्रयास

दुई सिफ्टमा पढाइ भइरहेको यो विद्यालयमा भौतिक संरचना सिमित छन् । अहिले भर्ना भएका करिब २ हजार ७ सय विद्यार्थीका लागि मात्र कक्षा कोठाको सुविधा छ । यहाँ विद्यार्थीका लागि पुस्तकालय, ल्याब, कम्प्युटर ल्याव, क्यामेष्ट्री ल्याब लगायतका उत्कृष्ट ल्याबहरू छन् । कक्षा र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकीसंकायहरु विषयहरू पढाइ हुन्छ ।

यस विद्यालयले विज्ञान र प्रविधिलाई जोड्नका लागि ‘कम्प्युटर साइन्स पनि सुरु गरेको छ । सबै संकायमा ३ सय ५० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य विद्यालयले लिएको छ ।

यो विद्यालयमा पढेका विद्यार्थीले हातमा सर्टिफिकेट बोकेर कामको लागि चहार्ने होइन, विश्व बजारमा बिक्न सक्ने बनाउनुछ, त्यसका लागि पनि धेरै विद्यार्थीलाई चाहेर पनि लिन सकिँदैन, भर्नामा हामीले बिचार पु¥याएनौं भने रिजल्ट राम्रो आउँदैन, यसमा पनि विद्यालय सचेत हुनुपर्छ,’ उनले भने ।

रत्न राज्यलक्ष्मी मावि । तस्बिर : सौगात पुडासैनी ।

उनी आफू पनि कक्षा लिने गरेको बताउँछन् । ‘म पनि दिनमा तीन÷चार कक्षा लिन्छु । कोठामा शिक्षक खाली हुने र विद्यार्थी बाहिर निस्कने बित्तिकै पढाउन जान्छु, रिजल्ट राम्रो बनाउनका लागि प्रधानाध्यापकले कुर्सीमा बसेर मात्र हुँदैन । जुन ठाउँमा हेडमास्टर कुर्सीमा बसिराख्छ त्यो ठाउँको रिजल्ट राम्रो आउँदैन,’ उनी भन्छन्, ‘संस्कारयुक्त शिक्षा, रत्न राज्यको इच्छा हो, यहाँ पढ्ने विद्यार्थी शिक्षा मात्र लिदैनन्, सस्कार पनि सिक्छन् ।’

साढे तीन दशकदेखि शिक्षणमा

रत्नराज्य माविका प्रधानाध्यापक रामाशिष यादव अध्यापन गराउँदै आएको ३३ वर्ष बढी भयो । उनले यो अवधिमा धेरै विद्यालयमा विज्ञान र गणित पढाए । उनी रत्नराज्यको प्रधानाध्यापक भएको पनि लामो समय भयो । यस विद्यालयलाई यहाँ सम्म पु¥याउनुमा उनको पनि ठूलो योगदान छ । रामाशिष मनैदेखि काम गर्ने चाहना भएमा उत्कृष्ट काम गर्न सकिने धारणा राख्छन् ।

राजनीतिबाट टाढा रहेर कर्ममा होमिएका उनी राजनीतिको झोला बोक्नुभन्दा कर्मको भारी बोक्नु राम्रो हुने तर्क दिन्छन् । ‘अहिले देश भाषणले बिग्रेको छ । तर, भाषण गरेर चल्दैन, दिमाग चलाउनुपर्छ,’ उनी भन्छन्, म विज्ञान र गणितको शिक्षक भएर होला भाषण आउँदैन काम आउँछ, त्यही कारण यो स्कुललाई यहाँसम्म पु¥याउन सकेँ ।’

नेपालका विद्यार्थी कुन स्कुलको पढाइ राम्रो छ भनेर विश्वका ठूल्ठूला शहरका विद्यालयको खोजी गर्छन् । तर, नेपालभित्र रहेका सामुदायिक विद्यालयको खोजि गर्दैनन्, यस्ता कुरामा उनलाई दुःख लाग्छ । उनी कक्षा ११ मा पढ्ने इच्छा भएका राम्रा विद्यार्थीलाई रत्नराज्यमा भर्ना हुन पनि आग्रह गर्छन् ।

‘एसईई पास भएका विद्यार्थी पैसा छैन भन्दै घर बस्नु पर्दैन,’ उनी भन्छन्, ‘राम्रो निजी कलेजमा हुने पढाइ हाम्रो स्कुलमा पनि हुन्छ, तपाईं आउनुभयो भने चन्दा मागेर हुन्छ कि ऋण काढेर हुन्छ, हामी पढाउन तयार छौँ, विद्यालयलाई थप उत्कृष्ट बनाउँछौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.