जीवन बीमामा ‘फोर्स सेलिङ’, आर्थिक मन्दीको असर कायमै

  २०८१ साउन २० गते १५:०१     लक्ष्मण लम्साल

काठमाडौं । बीमा बजार अझैं पनि लयमा नफर्किएको देखिएको छ । देशको अर्थतन्त्रमा मन्दी सिर्जना हुँदा प्रत्यक्ष मारमा परेको बीमा बजार अझै पनि माथि उठ्न नसकेको तथ्यांकले देखाएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा बीमा क्षेत्रले उत्साहजनक रुपमा व्यवसाय गर्न नसकेको विभिन्न कम्पनीको वित्तीय विवरणहरूबाट देखाउँछ । अर्थतन्त्रको प्रत्यक्ष प्रभाव बीमा क्षेत्रमा पर्दा केही बीमा कम्पनीहरूको प्रिमियम अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा घटेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष जीवन बीमाको व्यापार ९.८१ र निर्जीवन बीमाको व्यापार २.३८ प्रतिशतले मात्रै बढेको छ । बीमा क्षेत्रका जानकारहरू यसलाई सन्तोषजनक रूपमा लिन नसकिने तर्क राख्छन् । उनीहरू बीमा बजारमा मन्दीको असर कायमै रहेको धारणा राख्छन् ।

बीमा क्षेत्रका जानकार तथा साविक लुम्बिनी जनरल इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधान बीमा बजारको वर्तमान व्यवसायमा सन्तुष्ट हुने ठाउँ नरहेको बताउँछन् । ‘बीमा क्षेत्रमा कम्तिमा पनि १५ देखि २० प्रतिशतसम्मको वृद्धिलाई सामान्य वृद्धि मान्न सकिन्छ, अहिलेको वृद्धिलाई सन्तोषजनक हो भन्न सकिँदैन, यसले बीमा बजारमा अझैं पनि मन्दी छ भन्ने बुझ्न सकिन्छ,’ उनले भने ।

अहिले निर्जीवन बीमा कम्पनीभन्दा जीवन बीमा कम्पनीको व्यवसाय बढेको छ । प्रधानका अनुसार यसको मुख्य कारण ‘फोर्स सेलिङ’ हो । बैंकको ब्याजदर घट्नु पनि अर्को कारण रहेको उनको भनाइ छ ।

‘बैंकमा मुद्दति निक्षेपको ब्याज घट्दा बैंकमा राख्ने रकमबाट मानिसहरुले बीमा गरेको हुनसक्छ, बीमा गर्दा जोखिमको हस्तान्तरण पनि हुने र बचत पनि हुने भएकाले कम ब्याजदरमा बैंकमा राख्ने रकम बीमा क्षेत्रमा आएको हुन सक्छ, त्यस कारण पनि निर्जीवनको तुलनामा जीवन बीमाको व्यापार बढी भएको हुन सक्छ,’ उनले भने ।

अहिले अर्थतन्त्र सुस्त गतिमा अगाडि बढ्दा बीमा क्षेत्रको त्यसको प्रत्यक्ष प्रभावमा परेको जानकारहरू बताउँछन् । बजार जुन रुपमा र जसरी चलायमान हुन्छ, बीमा बजार पनि सोही लयमा अगाडि बढ्ने गर्छ । भन्सार विभागका अनुसार गत वर्षको आयात निर्यात घटेको छ । निर्माण व्यवसायीहरू निर्माणको काम ठप्प रहेको बताइरहेका छन् । बैंकरहरू बैंकबाट कर्जा प्रवाह हुन नसकेको गुनासो गरिरहेका छन् । यी विभिन्न कारणले बीमा बजार पनि सुस्त बनेको बीमा क्षेत्रमा कार्यरतहरू बताउँछन् ।

बीमा क्षेत्रका जानकार रबिन्द्र घिमिरे पनि बीमा बजार सुस्त बन्नुको मुख्य कारण अर्थतन्त्रमा आएको मन्दी र निर्माण क्षेत्रको सुस्तता रहेको बताउँछन् । ‘निर्जीवन बीमा बजारको आर्थिक गतिविधिसँग प्रत्यक्ष सम्बन्ध रहन्छ, आर्थिक गतिविधि सुस्त हुँदा यस क्षेत्रको व्यवसाय पनि घट्छ, अहिले त्यही भएको हो,’ उनले भने ।

तर, जीवन बीमा तर्फको व्यापार भने अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध नरहने उनको भनाइ छ । वर्तमान आर्थिक मन्दीले जीवन बीमा व्यवसायलाई नछोएको उनको तर्क छ ।

नेपाल बीमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक राजुरमण पौडेलले भने बीमा क्षेत्रको यो वृद्धिलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राख्छन् । अर्थतन्त्रमा देखिएको आर्थिक शिथिलताका बीच कम्पनीहरुले गरेको व्यापार वृद्धि सन्तोषजनक नै रहेको उनको धारणा छ ।

उनले जीवन बीमा दीर्घकालका लागि गरिने भएकाले निर्जीवनकोभन्दा धेरै वृद्धि भएको बताए । निर्जीवन तर्फको यो वृद्धिलाई पनि सन्तोषजनक रुपमा लिनुपर्ने उनको भनाइ छ ।

उनका अनुसार विभिन्न आर्थिक क्षेत्रको वृद्धिले निर्जीवन बीमा क्षेत्रलाई प्रभाव पार्छ । पछिल्लो समय सबै क्षेत्र ‘पेनिक’ भएको अवस्थामा निर्जीवन तर्फको यो वृद्धिलाई सकारात्मक नै मान्नु पर्ने उनको तर्क छ ।

बीमा कम्पनीको व्यवसाय

जीवन बीमा कम्पनीले अघिल्लो आवको तुलनामा गत आर्थिक वर्ष ९.८१ प्रतिशत र निर्जीवन कम्पनीले २.३८ प्रतिशतले व्यवसाय वृद्धि गरेका छन् । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीले कुल १ खर्ब ५६अर्ब ३१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने अघिल्लो आर्थिक वर्षमा १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेका थिए ।

जीवन बीमातर्फ सबैभन्दा बढी व्यवसाय वृद्धि गर्ने कम्पनी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेको छ । जसले १९.४८ प्रतिशतले व्यापार बढाएर ४ अर्ब ३७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले १६.८७ र एशियन लाइफ इन्स्योरेन्सले १४.७४ प्रतिशतको व्यवसाय वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आईएमई लाइफले १३.३० प्रतिशत, हिमालयन लाइफले ११.५० प्रतिशत र रिलायवल नेपालले १०.८६ प्रतिशत र नेपाल लाइफले ९.८९ प्रतिशत व्यापार वृद्धि गरेका छन् । अन्य कम्पनीको व्यापार वृद्धि एकल अंकमा छ ।

यस्तै, निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा कुल ४१ अर्ब १६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने अघिल्लो आवमा ४० अर्ब २१ करोड रुपैयाँ संकलन गरेका थिए । निर्जीवन बीमातर्फ सबैभन्दा बढी व्यवसाय वृद्धि ओरियन्टल इन्स्योरेन्सको छ । ओरियन्टलले अघिल्लो वर्षको तुलनामा ४४.१६ प्रतिशतले व्यापार वृद्धि गरेर कुल २ अर्ब १६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नेशनल इन्स्योरेन्सले १७.६५ प्रतिशत, सानिमा जिआईसीले १२.६५ प्रतिशत र हिमालयन एभरेष्टले ११ प्रतिशतको व्यापार वृद्धि गरेको छ । अन्य कम्पनीको व्यापार एकल अंकमा बढेको छ ।

निर्जीवन बीमातर्फ ३ कम्पनीको व्यापार भने घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सिद्धार्थ प्रिमियरको ५.६४ प्रतिशत, युनाइटेड अजोडको २०.२३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको बीमा व्यवसाय ३१.१९ प्रतिशतले घटेको छ ।