२०८१ साउन २२ गते १३:१८ विकासन्युज
काठमाडौं । निर्जीवन बीमा कम्पनीतर्फको लघु बीमाको व्यापार ३४९ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुबीमाको व्यापार ३४९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा कुल ६ करोड ९८ लाख रुपैयाँको लघुबीमा व्यवसाय भएपनि गत आर्थिक वर्षमा भने ३१ करोड ३६ लाख रुपैयाँको पुगेको छ ।
यस्तै, यो अवधिमा हवाई बीमा ३५.८ प्रतिशत र सम्पत्ति बीमा व्यवसाय १४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कुल २ अर्ब ६० करोड ७६ लाख रुपैयाँको हवाई बीमा भएको छ भने १० अर्ब ३२ करोड ९२ लाख रुपैयाँको सम्पत्ति बीमा भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो बीमा क्रमशः १ अर्ब ९२ करोड २ लाख र ९ अर्ब रुपैयाँ भएको थियो ।
गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसाय सामान्य रुपमा वृद्धि भएको छ । निर्जीवन बीमाको व्यपार ३.१२ प्रतिशतले बढेर ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।
निर्जीवन तर्फको मूख्य व्यवसायको रुपमा हेरिएको मोटर बीमाको बजार भने घटेको छ । निर्जीवन बजारको ४० प्रतिशतको हिस्सा ओगट्ने मोटर बीमाको व्यापार गत आवमा खुम्चिएको हो । मोटर बीमाको बजार ५.५६ प्रतिशतले खुम्चिएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मोटर बीमाको व्यापार ७४ करोड रुपैयाँले घटेको हो । यस्तै, कृषि बीमाको बजार ११.२५ प्रतिशतले घटेको हो ।
सरकारबाट बीमा अनुदान वापतको रकम भुक्तानी नपाएपछि बीमा कम्पनीहरुले करिब अढाई महिना कृषि बीमालेख जारी गर्न रोकेका थिए । सोही कारणले पनि यो पोर्टफोलियोको व्यापार घटेको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू बताउँछन् ।
यस्तै, समून्द्रिक बीमालेख अन्तर्गतको बजार १.७४ र इन्जिनिरिङ्ग तथा निमाण क्षेत्रको बीमा बजार ०.९६ प्रतिशतले घटेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.