त्रिभुवन विमानस्थल परिसरमा रेस्टुरेन्टको भाडा पौने ६ करोड रुपैयाँ

  २०८१ साउन २४ गते ९:१३     विकासन्युज

काठमाडौं । त्रिभुवन विमानस्थल परिसरमा रेस्टुरेन्ट सञ्चालनको भाडा पौने ६ करोड रुपैयाँ तोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले विमानस्थल परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्दा ५ करोड ७५ लाख रुपैयाँ भाडा तोकेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको आन्तरिक टर्मिनल भवनको नयाँ आगमन भवनको दक्षिणतर्फको एरियामा रेस्टुरेन्ट संचालन गर्न दिने भएको छ ।

उक्त रेस्टुरेन्ट खुला प्रतिस्पर्धाको माध्यमबाट ५ वर्षका लागि ठेक्कामा दिने कार्यालयले जनाएको छ ।

उक्त स्थानमा रेस्टुरेन्ट सञ्चालन ईच्छुक व्यक्ति तथा कम्पनीले ३० दिनभित्र आवेदन दिनुपर्नेछ । तर, यसअघि दुई पटक सार्वजनिक आह्वान गर्दा पनि आवेदन नपरेपछि तेस्रोपटक पुनः आह्वान गरेको हो । यसअघि गत चैत र बैशाखमा बोलपत्र आह्वान गरेको थियो ।