बागमतीमा ९७ अर्ब र कर्णालीमा ५ अर्बको बीमा बजार, विकटमा बीमा विस्तार गर्ने अभियान ‘फ्लप’

  २०८१ साउन २८ गते १२:१८     लक्ष्मण लम्साल

काठमाडौं । बीमा क्षेत्रकाे नियामक नेपाल बीमा प्राधिकरणले दुरदराजमा पनि बीमा पहुँच पुर्याउने लक्ष्य राखे पनि त्यसमा सफलता नमिलेको देखिएको छ । प्राधिकरणले गाउँ-गाउँसम्म बीमाको पहुँच पुर्याउने नीति अवलम्बन गरे पनि कार्यान्वयनमा भने केही सुस्सता देखिएको हो ।

प्राधिकरणले गाउँ–गाउँमा बीमा विस्तार गर्ने र पहुँच पनि विस्तार गर्ने अभियान नै सञ्चालन गर्दै आएको छ । तर, गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक हेर्दा प्राधिकरणको उक्त नीतिले सार्थकता नपाएको हाे ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकलाई हेर्ने हो भने गत आवमा बीमा कम्पनीहरू सहर केन्द्रित भएको देखिन्छ । कम्पनीहरू सहर केन्द्रित हुँदा पिछडिएको तथा दुर्गम भेगका मानिस बीमाको पहुँचभन्दा टाढा छन् ।

प्राधिकरणको तथ्यांकअनुसार देशकै ठूलो सहर अर्थात राजधानी रहेको प्रदेश बागमतीमा मात्रै बीमा कम्पनीहरू केन्द्रित छन् । गत आवमा बीमा क्षेत्रको कुल व्यापार कबिर १ खर्ब ९७ अर्ब ९६ करोड रुपैयाँको भएको छ । यो जीवन र निर्जीवन दुवै तर्फको व्यापार हो ।

जसमध्ये करिब आधा अर्थात ४९.१४ प्रतिशत बागमती प्रदेशमा केन्द्रीत छ । बागमतीमा ९७ अर्ब २७ करोड रुपैयाँको व्यापार हुँदा कर्णालीमा जम्मा ५ अर्ब रुपैयाँको मात्र व्यापार भएको तथ्यांकले देखाउँछ । देशकै पिछडिएको मानिएको कणाली प्रदेशमा बीमाको व्याापार हिस्सा जम्मा २.५० प्रतिशत मात्र छ ।

के भन्छन् जानकार ?

बीमा विज्ञ रमेशकुमार भट्टराईले बीमा कम्पनीहरू सहर केन्द्रित हुनुलाई स्वभाविक रूपमा लिएका छन् । उनले बैंकिङ क्षेत्रको उदाहरण दिँदै बीमाको ५० प्रतिशत व्यापार बागमती केन्द्रित हुनुलाई स्वभाविक भएको बताएका हुन् । उनका अनुसार देशको सबैभन्दा धेरै अर्थतन्त्र चलायमान हुने र बैंकिङ क्षेत्रमा पनि सबैभन्दा धेरै कारोबार हुने बागमती प्रदेशमा नै हो । बैंकको ५० प्रतिशतभन्दा धेरै निक्षेप बागमतीबाट नै संकलन हुने उदाहरण दिँदै उनले भने, ‘बीमाको ५० प्रतिशत बागमतीमा हुनु स्वभाविक नै हो ।’

तर, उनले यतिमा नै सन्तुष्ट भएर बस्न नहुने बताए । गाउँमा बीमाको अझै धेरै सम्भावना भएकाले कम्पनीहरू गाउँ केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । उनका अनुसार जीवन बीमा बजार एजेन्टमा आधारित हुने भएकाले गाउँसम्म एजेन्टहरू पुगेर बिजनेस ल्याउने गरेको बताए । ‘जीवन बीमक गाउँमा पुगेका छन्, निर्जीवन कम्पनीहरू पनि गाउँ पस्नुपर्छ ’, उनले भने, ‘प्रदेश संरचना बनेपछि गाउँतिर पनि आर्थिक चलायमान हुँदै गएको भन्दै अब गाउँमा पनि बीमाको व्यापार बढ्नेछ ।’

यता नेपाल बीमा प्राधिकरणका निवर्तमा कार्यकारी निर्देशक तथा बीमा विज्ञ राजुरमण पौडेलले भने बागमती र कर्णाली प्रदेशबीच तुलना गरेर बीमाको विस्तार गाउँमा पुग्यो पुगेन भनेर भन्न नमिल्ने बताए । देशको राजधानीसमेत रहेको बागमतीमा धेरै आर्थिक क्रियाकलाप हुने भएकाले यस क्षेत्रमा बीमाको व्यापार धेरै हुनु सामान्य भएको बताए । तर, उनले कर्णाली लगायतका क्षेत्रहरूमा बीमाको विस्तार भने र सोचेअनुसार नभएको स्वीकार गरे ।

प्राधिकरणले गाउँ-गाउँमा विस्तार गर्ने अभियान चलाएर केही हदसम्म गाउँमा बीमाको व्यापार बढ्न थालेको भएता पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ ।

कर्णाली लगायत केही क्षेत्रमा भौगोलिक बनावटले पनि सोचे जस्तो बीमाको पहुँच पुर्‍याउन नसकिएको उनी बताउँछन्। तर, बिस्तारै गाउँ–गाउँमा बीमाको पहुँच बढ्दै जाने आशा उनले व्यक्त गरे ।