२०८१ साउन २९ गते १२:३९ विकासन्युज
काठमाडाैं । कजारिया रमेश टायल्सले भैरहवामा चार अर्ब रुपैयाँ लगानीमा टायल्स उद्योग सञ्चालन गरेको छ । सोमबारदेखि सञ्चालनमा आएको उद्योगको वार्षिक उत्पादन क्षमता ५१ लाख वर्गमिटर टायल रहेको कम्पनीले जनाएको छ ।
कजारिया रमेश टायल्स, रमेश कर्प र भारतको टायल निर्माता कम्पनी कजारिया सेरामिक्सको संयुक्त उत्पादन हो । यसै सहकार्यमार्फत नवलपरासीमा टायल निर्माण कारखाना स्थापना गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कारखाना स्थापनासँगै स्थानीय कच्चा पदार्थ प्रयोग गरी कजारियाले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।
उद्योगले नयाँ आधुनिक उत्पादन केन्द्र किल्न लाइट अप अर्थात् भट्टी प्रज्ज्वलनको पनि उद्घाटन गरेको छ । अब बजारको मागअनुसार टायल्स उत्पादन गर्ने उद्योगले जानकारी दिएको छ ।
‘नेपालमा नयाँ उत्पादनको केन्द्र स्थापना भएकामा हामी गौरवान्वित छौं,’ कजारिया सेरामिक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले भने, ‘यो आधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ ।’
मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रियामा रहेको कजारिया रमेश टायल्सका अध्यक्ष प्रतीक जलानले बताए ।
‘हाम्रो नयाँ उत्पादन कारखानाको सफल उद्घाटनबाट अत्यन्त हर्षित छौं,’ उनले भने, ‘यो विस्तार हाम्रो वृद्धि र विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धता हो ।’
उद्योगले स्थानीय अर्थतन्त्रलाई विकास गर्नुका साथै रोजगारी सिर्जना गर्ने समेत विश्वास लिएको जनाएको छ ।
कजरिया भारतमा ३५ वर्ष पुरानो उद्योग हो । उद्योगमा ५० प्रतिशत कजरिया र ५० प्रतिशत रेमश कर्पको लगानी रहेको बताइएको छ ।उद्योगमा ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहेको बताइएको छ ।
उद्योगका अनुसार एभरेष्ट बैंकको अगुवाईमा ३ अर्ब रुपैयाँ ऋण लगानी भएको छ । यो प्रोजेक्टमा सह-वित्तियकरणमा नबिल बैंक, नेपाल बैंक र प्रभु बैंकले ऋण लगानी गरेको बुझिएको छ । कजरियाले ३ अर्ब ४ करोड ऋणको रेटिङ गराएको छ ।
के हाे कजारिया रमेश टायल्स ?
कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उत्पादन हो । यसै सहकार्य मार्फत नेपालको सबैभन्दा ठूलो टायल निर्माण कारखाना नवलपरासीमा स्थापना भएको छ ।
स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने कजारिया रमेश टायल लिमिटेडले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने महत्वाकंक्षा लिएको छ । नवलपरासी स्थित कारखानाले वार्षिक ५१ लाख वर्ग मिटर टायल उत्पादन गर्नेछ ।
कारखाना निर्माणका लागी गरिएको ४ अर्ब नेपाली रुपैयाँको लगानीले अर्थतन्त्रलाई प्रोत्साहन दिने र विश्वस्तरीय कजारिया टायलहरू सस्तो मूल्यमा उपलब्ध गराउने विश्वास कम्पनीकाे छ ।
कारखानाले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय वृद्धि गर्नुका साथै हजारौं रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा कम्पनीले लिएको छ । कजारिया रमेश टायल्स लिमिटेडले स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउँदै वृद्धि र विकासलाई प्रवर्द्धन गर्ने कम्पनीकाे भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.