२०८१ साउन ३२ गते १७:५१ विकासन्युज
काठमाडौं ।गत आर्थिक वर्ष २०८०/०८१ लघु बीमा कम्पनीहरूले ३ कराेड बढी खुद नाफा आर्जन गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका ७ लघु बीमा कम्पनीहरुले गत आवमा ३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
जसमध्ये सबैभन्दा धेरै ट्रष्ट माइक्रो इन्स्योरेन्सले खुद नाफा आर्जन गरेको छ । ट्रष्टले १ करोड ९ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्दा लिबर्टी माइक्रो लाइफले ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
क्रेष्ट माइक्रो लाइफले ४० लाख र नेपाल माइक्रोले २९ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यो अवधिमा लघु बीमा कम्पनीहरुको बीमा कोषमा २० करोड ७६ लाख ५८ हजार रुपैयाँ रहेको छ । बीमा कोषमा सबैभन्दा धेरै नेपाल माइक्रोको रहेको छ । नेपाल माइक्रोको बीमा कोषमा ५ करोड ८५ लाख रुपैयाँ छ भने क्रेष्ट माइक्रो लाइफको ४ करोड ७१ लाख रुपैयाँ जीवन बीमा कोषमा रहेको तथ्यांकले देखाउँछ ।
यस्तै, प्रोटेक्टिभ माइक्रोको ३ करोड १६ लाख र ट्रष्ट माइक्रोको २ करोड ४४ लाख रुपैयाँ बीमा कोषमा रहेको छ ।
बीमाशुल्क संकलनमा भने सबैभन्दा अगाडि नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । नेपाल माइक्रोले १० करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा क्रेष्ट माइक्रो लाइफले ९ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
प्रोटेक्टिभ माइक्रोले ९ करोड ४२ हजार र स्टार माइक्रोले ६ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकाे छ ।
कम्पनीहरुले गर्ने लगानीमा भने क्रेष्ट माइक्रो अगाडि रहेको छ । लगानीमा आक्रामक बनेको क्रेष्टले ५४ करोड ३० लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
यस्तै, स्टार माइक्रोले ५३ करोड ५५ लाख, गार्डियन माइक्रोले ५२ करोड ७ लाख र लिबर्टीले ५१ करोड ७२ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । कम्पनीहरुले अघिकांश लगानी भने बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.