व्यवसाय ३ प्रतिशतले वृद्धि, नाफा ५२ प्रतिशतले वृद्धि

  २०८१ भदौ ३ गते ११:४२     लक्ष्मण लम्साल

काठमाडौं । व्यापार सामान्य रूपमा बढे पनि निर्जीवन बीमा कम्पनीहरूको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ३ प्रतिशतले बढेको थियो । व्यापार ३ प्रतिशतले बढे पनि नाफा भने ५२ प्रतिशतले बढेको हो ।

केही निर्जीवन बीमा कम्पनीको नाफा सतप्रतिशतभन्दा धेरैले बढेको छ । एक कम्पनीको नाफा १५२.४५ प्रतिशतसम्म वृद्धि भएको छ । आईजीआई प्रुडेन्सियलको नाफा १५२.४५ प्रतिशतले बढ्दा शिखर इन्स्योरेन्सको नाफा १२७ प्रतिशत, प्रभु इन्स्योरेन्सको नाफा ११८ प्रतिशत र यूनाईटेड अजोड इन्स्योरेन्सको नाफा १०८ प्रतिशतसम्मले वृद्धि भएको छ ।

अघिकाशं निर्जीवन बीमकको नाफा ५० प्रतिशतभन्दा धेरै छ । १० कम्पनीको नाफा ५० प्रतिशतभन्दा धेरैले बढेको छ । २ कम्पनीको नाफा वृद्धि २० प्रतिशतको हाराहारीमा रहँदा २ कम्पनीको भने नाफा घटेको छ ।

यसरी निर्जीवन बीमा कम्पनीहरूको नाफा उल्लेख्य रूपमा बढ्नुका अनेक कारणहरू हुने गरेको नेपाल बीमा प्राधिकरणका पूर्वनिर्देशक तथा बीमा विज्ञ दिनेशलाल कर्ण बताउँछन् ।

बीमा कम्पनीहरूले अन्य क्षेत्रमा गरेको लगानीबाट हुने आम्दानी बढ्नु, कम्पनीहरूले चल/अचल सम्पत्ति बिक्री गर्नुलगायत विभिन्न कारण रहेको उनले बताए । यसका साथै भुक्तानी दिन बाँकी रकमबापत प्रोभिजनमा राख्नुपर्ने रकम त्यसअनुसार नराखेका कारण, व्यवस्थापन लागत घटनुलगायत विभिन्न कारणले नाफा बढ्ने गरेको विज्ञ कर्णले बताए ।

तर, गत आवमा अघिकाशं कम्पनीहरू अन्य विभिन्न क्षेत्रमा रहेको लगानी बिक्री गरेर नाफा देखाएका केही बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बताएका छन् । उनीहरूका अनुसार केही कम्पनीले घरजग्गा बिक्री गरेर पनि नाफामा देखाएका छन्, जसले उल्लेख्य रूपमा नाफा वृद्धि देखिएको छ ।

जसमध्ये केही कम्पनीहरूले नेपाल पुनर्बीमा कम्पनीमा रहेको आफ्नो सेयर बिक्री गरेका छन् भने केहीले घरजग्गा बिक्री गरेका हुन् ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले कम्पनीहरूले नेपाल पुनर्बीमाको सेयर बेचेका कारण नाफा उल्लेख्य रूपमा वृद्धि भएको बताए ।

यस्तै, केही कम्पनीहरूले घरजग्गा बिक्री गरेको र कम्पनीहरूको लगानी आम्दानी वृद्धि भएका कारण पनि नाफा उल्लेख्य बढेको उनले बताए ।

नेपाल बीमक संघका अध्यक्षसमेत रहेका क्षेत्रीकाअनुसार मर्जर भएर आएका बीमा कम्पनीहरूले अघिल्लो वर्ष पूरा १२ महिनाको नाफा नदेखाएका कारण अघिल्लो आवसँग गत आवको तुलना गर्दा गत आवको नाफा धेरै बढेको देखिएको बताए ।

उनका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वित्तीय विवरणमा पनि अघिल्लो आर्थिक वर्षको नाफा भनेको ८ महिनाको मात्र हो । र, गत आवको भने पूरा १२ महिनाको हो । ८ महिनाको नाफासँग १२ महिनाको तुलना गर्दा नाफा वृद्धि धेरै देखिएको हो ।

कुन कम्पनीले के बेचे ?

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीमा रहेको आफ्नो २० लाख कित्ता सेयर बिक्री गरेको हो । आईजीआई प्रुडेन्सियलले उक्त सेयर प्रतिकित्ता २८० रुपैयाँका दरले बिक्री गरेको हो । कम्पनीले उक्त सेयर ५६ करोड रुपैयाँमा बिक्री गरेको हो ।

यसैगरी हिमालय एभरेष्ट इन्स्योरेन्सले पनि नेपाल पुनर्बीमा कम्पनीमा रहेको २० लाख कित्ता सेयर करिब ५६ करोड रुपैयाँमा बिक्री गरेको थियो । प्रभु इन्स्योरेन्सले १९ लाख ८० हजार र सिद्धार्थ प्रिमियरले पनि २० लाख कित्ता सेयर करिब ५५ र ५६ करोड रुपैयाँमा बिक्री गरेका हुन् ।

सिद्धार्थ प्रिमियरले नागरिक लगानी कोषमा रहेको २ लाख कित्ता सेयर करिब २५ करोडमा बिक्री गरेको थियो ।

यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सले मल्टिप्रोपोज फाइनान्समा रहेको २ लाख ५१ हजार कित्ता सेयर बिक्री गरेको थियो ।

यसैगरी नेपाल इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीमा रहेको करिब २० लाख कित्ता सेयर ५५ करोड रुपैयाँमा बिक्री गरेको थियो ।