कर्णाली सरकारको सामूहिक दुर्घटना बीमाअन्तर्गत विपद् पीडितले पाए ६ करोड राहत

  २०८१ भदौ ४ गते ११:३५     विकासन्युज

काँक्रेविहार । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई ६ करोड रुपैयाँबराबरको राहत रकम उपलब्ध गरएको छ ।

विसं २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म ३ सय ४४ पीडितपरिवारलाई प्रदेश सरकारले सामूहिक बीमावापत ६ करोड ८८ लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराएको हो ।

पहिलो चरणमा विभिन्न प्राकृतिक विपदमा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई बीमावापत १ करोड १८ लाख रकम प्रदान गरिएको थियो ।

प्रतिव्यक्ति २ लाखका दरले दोस्रो चरणमा ४७ जनालाई ९४ लाख, तेस्रो चरणमा ६६ जनालाई १ करोड ३२ लाख र चौथो चरणमा १ सय ७२ जनालाई ३ करोड ४४ लाख बीमा रकम प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । उक्त रकम राष्ट्रिय बीमा कम्पनीमार्फत उपलब्ध गराइएको हो ।

मन्त्रालयले आव २०८०÷८१ को साउनदेखि असार मसान्तसम्म भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागीजस्ता प्राकृतिक विपद्बाट मृत्यु भएका १ सय ७१ जनाका परिवारलाई ३ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका १ सय ५१ व्यक्तिका परिवारलाई २ लाखका दरले ३ करोड रुपैयाँ बीमामार्फत भुक्तानी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिए ।

उनका अनुसार कागजी प्रक्रिया नमिलेका कारण जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको छ ।

त्यसैगरी गत वर्ष भूकम्पबाहेक अन्य विपदमा परी मृत्यु भएका २० जनाका परिवारलाई ४० लाख रुपयाँ बीमामार्फत भुक्तानी गरिएको छ ।

कर्णालीका १७ लाख व्यक्तिको विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।