टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

  २०८१ भदौ ४ गते १३:४३     विकासन्युज

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

तत्कालीन सरकार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वले टिकटकमाथि प्रतिबन्ध लगाएको १० महिनापछि हटाउने तयारी गरिएको हो । सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

नेपालको नीति–नियम सबै पालना गर्ने प्रतिबद्धतासहित टिकटकले पहल थालेपछि सरकार पनि प्रतिबन्ध हटाउन लचिलो भएको हो । टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले केहीदिन अगाडि मात्रै इमेलमार्फत् प्रतिबद्धता पत्र सञ्चार मन्त्रालयलाई पठाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रतिबन्ध हटाउन सकारात्मक देखिएका छन् । उनले प्रतिबन्ध फुकुवाको तयारी गर्न निर्देशन दिएको बताइएको छ ।

सोहीअनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन् । त्यसपछि मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेर निर्णय गराई प्रतिबन्ध हटाउने तयारी भइरहेको बताइएकाे छ ।

सामाजिक सद्भाव बिथोलेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।