२०८१ भदौ ६ गते १८:१८ विकासन्युज
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवासुविधा लागु गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए । बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागु गर्ने भने पनि तयारी नपुगेको कारणले भदौदेखि लागु गरिएको हो ।
बोर्डले विज्ञहरूको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवासुविधाको नयाँ दररेट कायम गरेको छ । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत १ हजार २ सय ९० प्रकारका औषधी छन् । अस्पताल टिकट ५० रुपैयाँ तोकिएको छ । शय्याको प्रतिदिन २ सय ५० रुपैयाँ राखिएको छ । यसअघि साधारण शय्याको २ सय रुपैयाँ थियो ।
स्वास्थ्य बीमा कार्यक्रममाअन्तर्गत ५ जना परिवारसम्मका लागि ३ हजार ५ सय बराबरको योगदानका आधारमा १ लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ ।
यस्तै, थप प्रतिसदस्य ७ सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाखसम्म तोकिएको छ ।
बीमा कार्यक्रममा कुल बीमित परिवार संख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कूल बीमित जनसंख्या ७७ लाख ४१ हजार ४ सय ८३ जना रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.