चाडबाडमा अत्यावश्यक खाद्य वस्तुहरुको अभाव हुन दिँदैनौं : मन्त्री भण्डारी

  २०८१ भदौ ७ गते १७:०६     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरुको अभाव हुन नदिन सरकार सचेत रहेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार सिंहदरवारमा बसेको बैठकमा दशैँ, तिहार लगायतका चाडबाडमा हुने कालोबजारीलगायतको विषयमा भएको छलफलमा उनले सो कुरा बताएका हुन् ।

मन्त्री भण्डारीले चाडबाडका बेला अभाव नहुने गरी चामल, चिनी लगायतका अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति र सुपथ मूल्यमा वितरण गर्ने काममा सरकारले कुनै पनि कसर बाँकि नराख्ने बताए । बजारमा हुने खाद्य बस्तुहरुको अभाव, मूल्य समायोजन लगायतका विषयमा सरकार सचेत रहेको मन्त्री भण्डारीको भनाई थियो ।

उनले दैनिक उपभोग्य खाद्यवस्तुहरुको आपूर्ति व्यवस्थामा विचौलिया र तस्करी हुन्छ कि भनेर आशंका गर्न पनि सांसदहरुलाई पटक पटक आग्रह गरे । आपूर्ति कर्ताहरुसँग छलफल गरेर दैनिक उपभोग्य वस्तुहरुको सहज र सुपथ मूल्यमा आपूर्ति गराउने काम सरकारले गर्ने उल्लेख गर्दे मन्त्री भण्डारीले त्यसमा शंका गरिरहन नपर्ने जानकारी दिए ।

‘कानूनले त्यति भनेको छ । अनि कसरी त्यो भन्दा बढि जरिवाना हुन्छ ? त्यो भन्दा बढि जरिवाना त हामीले तोक्न सक्दैनौं’, उनले भने ।

मन्त्री भण्डारीले कालोबजारी हुन नदिने गरी बजार अनुगमनको कामलाई पनि सरकारले प्रभावकारी बनाउने बताए ।