२०८१ भदौ ८ गते १२:४९ विकासन्युज
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नेपालले कुल १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा १ खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार गत साउनमा नेपालले १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको मात्रै निर्यात गरेको हो ।
विभागका अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलना चालु आवको पहिलो महिनामा आयात ०.६७ प्रतिशतले घटेको छ भने निर्यात ९.६३ प्रतिशतले घटेको छ । गत साउन महिनामा नेपालले भारतसँग मात्र ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ ।
चालु आवको पहिलो महिना भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको आयात हुँदा ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको निर्यात भएको हो ।
नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा २४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबर छ ।
गत साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा १५ करोड ७६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको हो । कतार, युक्रेन, अस्ट्रेलिया, बहराईन, मलेसियालगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ ।
चालु आवको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरुमध्ये १३ मुलुकसँग भने व्यापार नाफा छ । सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग १८ करोड ३४ लाख ६६ हजार बराबर व्यापार नाफा देखिएको हो । अफगानिस्तान, बेल्जियम, रुस, मौसिरसलगायत मुलुकसँग व्यापार नाफा देखिएको छ ।
नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन् । गत एक महिनामा मात्र नेपालले ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, ५ अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।
त्यस्तै, साउनमा ३ अर्ब ४६ करोड ६३ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भने कार्पेट, चिया, स्टील, धागोलगायत छन् । गत साउनमा नेपालले १ अर्ब ११ करोड ७५ लाख बराबरको कार्पेट निर्यात गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.