२०८१ भदौ ९ गते १८:२६ विकासन्युज
चितवन । जिल्लामा दर्ता भएर सञ्चालमा रहेका ८५६ वटा उद्योग तथा व्यावसायिक फर्महरू बन्द भएका छन् । गत आर्थिक वर्षमा उद्योगतर्फ ३७६ र व्यावसायिक फर्मतर्फ ४८० बन्द भएका हुन् ।
उद्योग तथा वाणिज्य कार्यालय चितवनका अनुसार जिल्लामा दर्ता हुने उद्योग तथा व्यावसायीक फर्मभन्दा खारेज हुनेको संख्या बढेको हो । गत आर्थिक वर्षमा यहाँ उद्योगतर्फ ४३९ वटा दर्ता भएका छन् भने व्यावसायिक फर्मतर्फ ४५१ वटा दर्ता भएका छन् ।
कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार उद्योगतर्फ खारेज हुनेमा १ सय ७७ वटा कृषि तथा वनजन्य उद्योग छन् । यस्तै, उत्पादनमूलक उद्योग ८३ वटा, पर्यटनमूलक उद्योग ४२ वटा र सेवामूलक उद्योग ७४ वटा बन्द भएको खानालले जानकारी दिए ।
गत आर्थिक वर्षमा २ हजार १ सय ९ वटा उद्योगहरू नवीकरण गरिएको छ । वाणिज्यतर्फ २ हजार ६ सय ८९ वटा व्यवसाय नवीकरण भएको उनले जानकारी दिए । जिल्लामा हालसम्म १६ हजार तीन सय ५० उद्योगको अभिलेख रहेको र २० हजार १ हजार ४१ वटा व्यावसायिक फर्म रहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.