अर्थमन्त्रीले भने : अवैध व्यापार नगर्नू, व्यवसायीको गुनासो- सरकारको साथ मिलेन

  २०८१ भदौ ११ गते ११:४५     विकासन्युज

काठमाडौं । नाडा अटो शोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अटो व्यवसायीहरूबीच सांकेतिक रूपमा आरोप प्रत्यारोप भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शोमा प्रमुख अतिथिको रुपमा रहेका अर्थमन्त्री पौडेल समक्ष व्यवसायीले सरकारको साथ नमिलेको बताएका हुन् ।

नाडा अध्यक्ष करण चौधरीले कार्यक्रमको सुरुमै अतिथिहरूलाई स्वागत गर्दै अटो क्षेत्रलाई सरकारले सहयोग नगरेको गुनासो गरे । ‘हामी निकै पारदर्शी छौं, यो क्षेत्रमा एक खर्ब बढी लगानी छ, ठूलो मात्रामा राजस्व तिर्छौं तर सरकारले हामीलाई सहयोग गरेन,’ उनले गुनासो गर्दै भने ।

अध्यक्ष चौधरीले सन्दर्भ मूल्यसूची खारेज गर्नुपर्ने र अवैध व्यापार रोक्नका लागि बोर्डर टाइट गर्नुपर्ने धारणा राखे । उनले अटो क्षेत्रमा नीगित स्थिरता पनि आवश्यक भएको धारणा राखे । हाइब्रिड र विद्युतीय सवारीसाधनहरूको प्रवद्र्धनका लागि सरकारको स्थिर नीति अपरिहार्य रहेको उनको भनाइ छ ।

यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल क्षेत्रलाई सरकारले विलासी वस्तुको रूपमा परिभाषा गर्न नहुने धारणा राखे ।

अटो क्षेत्र महत्वपूर्ण र आवश्यक क्षेत्र हो, रोजगारी र राजस्वको क्षेत्रमा यो क्षेत्रले ठूलो योगदान गरेको छ, त्यसैले पनि यो क्षेत्रलाई विलासिका रूपमा हेर्नु हुँदैन,’ उनले भने, ‘बरु सरकारले प्राथमिकतामा राख्द्यनुपर्छ ।’

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले पनि सरकारले अटो क्षेत्रलाई हेर्ने नजर परिवर्तन गर्नुपर्ने बताए । अर्थतन्त्रमा देखिएको सुस्सताको कारण अटो क्षेत्र पनि त्यसको प्रत्यक्ष प्रभावमा परेको बताउँदै अब सरकारले यो क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

‘मौद्रिक नीतिले केही सहज भएको देखिन्छ, त्यसैले पनि यो अवस्थामा यस्तो किसिमको अटो शो आयोजना गर्ने आँट गरिएको हो, सरकारले थप सहजीकरण गर्न आवश्यक छ,’ उनले भने ।

यस्तै, कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले अटो क्षेत्रका लागि पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने बताए । उनले अटोमोबाइल क्षेत्रमा लगाइने करको दर धेरै भएकोले त्यसलाई करेक्सन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

अर्थमन्त्रीले भने : अवैध बाटो नअँगाल्नूस्

कार्यक्रमका प्रमुख अतिथिका रूपमा रहेका अर्थमन्त्री पौडेलले व्यवसायीका कुरा सुन्दै सरकार सबै समस्याहरूमा सहजीकरण गर्न तयार रहेको बताएका छन् । उनले अटो क्षेत्रले रोजगारी सिर्जना र राजस्वमा ठूलो योगदान गरेको भएपनि केही व्यवसायी अवैध व्यापारमा लागेको दाबी गरे ।

‘अटोमोबाइल क्षेत्रले राजस्व र रोजगारी सिर्जनामा पु¥याएको योगदानको सरकारले प्रशंसा गर्छ । तर, अवैध गतिविधिमा व्यवसायीले लाग्नु हुँदैन,’ उनले भने ।

अध्यक्ष चौधरीको मागको सम्बोधन गर्दै उनले सरकारले अटो क्षेत्रमा स्थिर नीति अगाडि सार्ने बताए । उनले वर्तमान सरकार पनि स्थिर रहेकोले अटो क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा स्थिरता कायम गर्न सरकार तयार रहेको धारणा राखे ।

उनले विद्युतीय सवारी साधनका लागि नीतिग स्थिरता र पूर्वाधार निर्माणमा सरकारले विशेष चासो दिएको पनि बताए ।

आजदेखि सुरु भएको नाडा अटो शो भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । यो प्रदर्शनीमा अधिकतम् २० अर्ब रुपैयाँसम्म कारोबार हुने नाडाको अपेक्षा छ । नाडा अटो शोमा ७५ हजार मानिसले अवलोकन गर्न सकिने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.