विदेशिएका विद्यार्थी स्वदेश फिर्ता ल्याउनेगरी काम गर्न आग्रह

  २०८१ भदौ १४ गते ७:५८     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले विदेशिएका विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउनेगरी भूमिका निर्वाह गर्न शैक्षिक परामर्श व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २८औँ वार्षिकोत्सवका अवसरमा इक्यानलाई भूमिका परिवर्तन गर्न अनुरोध गर्दै मुलुकलाई शैक्षिक हबका रुपमा विकास गर्ने योजनामा सहयोग गर्न आग्रह गरे ।
‘पछिल्लो समय नेपालमा केही हुँदैन भन्ने भाष्य स्थापना गर्न खोजिएको छ, अब यो निराशावादी भाष्यलाई चिर्दै सकारात्मक सोचका साथ स्वदेशमै अवसर छ भन्ने ढङ्गले सोच्नु आवश्यक छ,’ उनले भने ।
मन्त्री भण्डारीले उच्च शिक्षाका नाममा विदेशिएका जनशक्तिले स्वदेशकै माटोमा भविष्य खोज्ने समय आएको समेत बताए । नेपालबाट विभिन्न बाहनामा जनशक्ति र पुँजी पलायनको अवस्था रहेको उल्लेख गर्दै यसलाई रोक्नका लागि शैक्षिक परामर्श व्यवसायीहरूको पनि भूमिका रहने उनको भनाइ छ ।
‘सरकार युवा जनशिक्तलाई स्वदेशमै रोक्ने नीतिका साथ अगाडि बढेको छ, यसमा निजी क्षेत्र त्यसमा पनि विशेषगरी इक्यान जस्तो संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ, म यहाँहरूलाई त्यसका लागि सरकारको योजनामा साथ दिन आग्रह गर्दछु,’ उनले भने । ।
सरकारले ‘स्टार्टअप’ लगायत नीतिमार्फत युवालाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिनेगरी काम गरिरहेको बताउँदै मन्त्री भण्डारीले लगानी सम्मेलनमार्फत विदेशबाट पुँजी र प्रविधि ल्याउनका लागि सरकारले पहल गरिरहेको बताए । सरकारले शैक्षिक परामर्श व्यवसायीहरुको भूमिका बुझेको र यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको समेत जनाए ।
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शैक्षिक परामर्श मुलुकको सेवामुलक क्षेत्रमा प्रमुखमध्ये एक भएको बताए ।
‘लाखौँ विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने र हजारौँलाई रोजगारी दिएको यो सेवामुलक क्षेत्रलाई राज्यले महत्त्वका साथ लिनुपर्छ, यस क्षेत्रका समस्या समाधानका लागि सरकारले साथ दिनुपर्छ, सरकारलाई पनि यस क्षेत्रको साथ र सहकार्य जरुरी छ,’ उनले भने । विदेशबाट विद्यार्थी ल्याउन र नेपाललाई शैक्षिक हब बनाउनका लागि इक्यानले देखाएको चासोमा सरकारले प्राथमिकताका साथ सहकार्य गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.