२०८१ भदौ १६ गते १८:२२ विकासन्युज
काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले गत शुक्रबार नेपालका आईटी कार्यबलहरूको सीप बढाउने उद्देश्यले दुई नयाँ पाठ्यक्रमहरू सुरु गरेको छ ।
यी पाठ्यक्रमहरू, डेभओप्स फन्डामेन्टल्स र मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट यूएसएआइडीको सहायतामा विकसित गरिएको जानकारी दिइएको छ।
नास आईटीले यी पाठ्यक्रमहरू कार्यान्वयन गर्न टेक आक्सिस र प्रेसिडेन्सियल ग्राजुएट स्कूलसँग साझेदारी गरेको छ । टेक आक्सिसले मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट कार्यक्रम सञ्चालन गर्नेछ भने प्रेसिडेन्सियल ग्राजुएट स्कूलले डेभओप्स फन्डामेन्टल्स पाठ्यक्रममा ध्यान केन्द्रित गर्नेछ । दुवै संस्थाहरूले सम्भावित सहभागीहरूलाई यी पाठ्यक्रमहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्।
डेभओप्स फन्डामेन्टल्स पाठ्यक्रम अन्तिम वर्षका विद्यार्थीहरूका लागि तयार गरिएको हो जसले तिनीहरूलाई व्यावहारिक डेभओप्स सिप प्रदान गर्दछ । डेभओप्सका सिद्धान्तहरू र कार्यप्रणालीहरू बुझेर विद्यार्थीहरू आधुनिक सफ्टवेयर विकासमा योगदान दिन तयार हुनेछन् ।
मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट पाठ्यक्रम आईटी व्यवसायी र कर्मचारीहरूलाई वेब एप्लिकेशन विकासमा उच्चस्तरको सीप प्रदान गर्न डिजाइन गरिएको हो । सहभागीहरूले उन्नत प्रविधिहरू, उत्कृष्ट अभ्यासहरू र उद्योगका प्रवृत्तिहरू सिक्नेछन् जसले उदाहरणीय वेब एप्लिकेशनहरू बनाउन सक्षम बनाउनेछ ।
‘नास आईटी जनशक्ति विकास र शैक्षिक क्षेत्र र उद्योग बीचको सहकार्यलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ,’ नास आईटीका कैलाश राज विजयनन्दले भने, ‘यी पाठ्यक्रमहरूले आईटी जनशक्तिलाई आजको प्रविधि(चालित संसारमा फस्टाउन आवश्यक सीपहरू प्रदान गर्ने छ । हामी विश्वास गर्छौं कि यी कार्यक्रमहरूले नेपालको आईटी उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछन् ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.