२०८१ भदौ २७ गते १७:०७ विकासन्युज
काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस परीक्षामा गम्भीर त्रुटि गरेको भन्दै आन्दोलनमा उत्रेका विद्यार्थी अब अदालत जाने भएका छन् ।
नतिजाप्रति आपत्ति जनाउँदै प्रश्नपत्र, उत्तर पुस्तिकासँगै अप्टिकल मार्क रिकग्निसन (ओएमआर) हेर्न पाउनु पर्ने उनीहरूको माग थियो । आयोगले आफ्नो गल्ती सच्याइसकेको बताउँदै प्रश्नपत्र, उत्तर पुस्तिका हेर्न नदिएपछि १२ दिनदेखि आन्दोलित विद्यार्थीहरू न्यायको लागि अदालत जान लागेका हुन् ।
यसका लागि ७० जनाले वारेसनामा भरिसकेको र आइतबार मुद्दा दर्ताको तयारी गरेको विद्यार्थी जीवन सिंहले बताए । आयोगले नतिजा सार्वजनिक गर्दा मानवीय त्रुटि गरेको बताउँदै विद्यार्थीले प्रश्नपत्र, उत्तरपुस्तिकासँगै ओएमआर हेर्न पाउनुपर्ने माग गरेका थिए ।
चिकित्सा शिक्षा आयोगले उत्तरपुस्तिका र ओएमआर हेर्न दिने भनेपनि प्रश्नपत्र पनि चाहिने विद्यार्थीको माग थियो । ‘हामीले प्रश्नपत्र नहेरी कसरी उत्तरमात्र हेर्न सक्छौं ? हामीलाई प्रश्नपत्र पनि चाहिन्छ, ‘ विकासन्युजसँग कुरा गर्दै उन भने, ‘मिडियामा प्रश्नप्रत्र र उत्तरपुस्तिका हेर्न दिने भन्यो तर हामीलाई प्रश्नपत्र दिइएन, अब हामीसँग अदालत जानुको विकल्प रहेन ।’
१२ दिनदेखि माइतीघर अनि आयोग धाउँदा पनि सुनाइ नभएको भन्दै विद्यार्थी आक्राेशित भएका छन् । उनीहरू आइतबार र्याली निकालेर, अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.