रिडी पावरको सहायक कम्पनीमार्फत अघि बढ्यो तल्लो बलेफी, शेयरधनीलाई के फाइदा?

  २०८१ भदौ २७ गते १८:४७     विकासन्युज

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनीमार्फत २२.५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण थालेको छ ।

रिडी पावरको शतप्रतिशत स्वामित्वमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बलेफि गाउँपालिकामा अवस्थित बलेफी नदीमा तल्लो बलेफी जलविद्युत आयोजनाको निर्माण थालेको हो ।

२०८१ साउनबाट यस आयोजना निर्माण सुरु भएको र आगामी दुई वर्षभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । यस आयोजनाको बिजुली खरिद बिक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग २०७५ माघमा सम्झौता भएको थियो ।

कम्पनीका अनुसार यस आयोजनाको कुल लागत ४ अर्ब ४० करोड रहेको छ । कुल लागत मध्ये ६७.२३ प्रतिशतले हुने २ अर्ब ९६ करोड बैंकको कर्जा लगानी रहेको छ भने १ अर्ब ४४ करोड कम्पनीको स्वपुँजी लगानी हुनेछ ।

कुल स्वपुँजी लगानीमध्येबाट रिडी पावर लिमिटेडले ५५ प्रतिशत अर्थात् ७८ करोड लगानी गर्नेछ भने अन्य रणनीतिक साझेदार कम्पनीबाट २५ प्रतिशत अर्थात् ३७ करोड लगानी गर्नेछन् । बाँकी रकम साझा पावर कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गरी लगानी गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

यस आयोजनामा लगानी गर्नको लागि रिडी पावरले १०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गरेर ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ संकलन गरिसकेको छ ।

रिडी पावरले यस आयोजनामा लगानी गर्नको लागि यसअघि नै हकप्रद निष्कासन गरेर रकम जुटाइसकेकोले अब लगानीकर्ताले थप रकम हाल्नु नपर्ने रिडी पावरका अध्यक्ष कुवेरमणि नेपाल बताउँछन् । उनका अनुसार रिडी पावरका शेयर लगानीकर्ताले थप रकम लगानी नगरी २२.५ मेगावाटको सो बलेफी आयोजनाले दिने लाभ पाउन सक्नेछन् ।

अध्यक्ष नेपालका अनुसार तल्लो बलेफी जलविद्युत आयोजनाबाट वार्षिक १०५ गिगावाट घण्टा विद्युत शक्ति उत्पादन हुनेछ । सो विद्युत बिक्रीबाट कम्पनीलाई पहिलो वर्षमा ६२.३० करोड आम्दानी हुनेछ । आयोजनाको विद्युत बिक्री दर वर्षायामका लागि ४.८० र सुख्यायामका लागि ८.४० रुपैयाँ तय भएको छ ।

यो मूल्यदर ६/६ महिनाको हुनेगरी मङ्सिर १६ देखि जेष्ठ १५ सम्मलाई सुख्यायाम र जेष्ठ १६ देखि मङ्सिर १५ सम्मलाई वर्षायाम कायम भएको छ । यो आयोजनाले ३ प्रतिशतका दरले ८ वर्षसम्मका लागि मूल्यवृद्धि दर प्राप्त गर्नेछ । बैंकबाट लिएको परियोजना ऋण कर्जा १२ वर्षभित्र चुक्ता भुक्तानी गर्ने योजना रहेको उनको भनाइ छ।

आयोजनाको ऋण फिर्ता अवधि ७.८० वर्षको रहेको छ । आयोजनाको इन्टरनल रेट अफ रिटर्न (आईआरआर) ११.८८ प्रतिशत रहेको छ । यस आयोजनाको व्यावसायिक उत्पादन सुरु गरेको पहिलो वर्षदेखि नै शेयरधनीहरूलाई लाभांश वितरण गर्न सक्ने ठानिएको अध्यक्ष नेपाल बताउँछन् ।

उनी भन्छन्, ‘यो आयोजना अबको दुई वर्षभित्र निर्माण सम्पन्न भई शेयरधनीहरूले लाभांश प्राप्त गर्नसक्ने देखिन्छ । यी सबै आयोजनाहरूलाई एकत्र गरेर हेर्दा रिडी पावर कम्पनी लिमिटेडको मातहतमा जम्मा ३५.३ मेगावाटका जलविद्युत र ८.५ मेगावाटको सोलार आयोजनासमेत गर्दा जम्मा ४३.८ मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको कम्पनी बनेको छ ।’

रिडी पावर कम्पनी अरुण भ्याली हाइड्रोपावर समूहअन्तर्गतको कम्पनी हो । हाल रिडी पावर कम्पनीले रिडी खोला साना जलविद्युत अयोजना ९२.४ मेगावाट, रैराङ खोला साना जलविद्युत परियोजना ९०.५०० मेगावाट, बुटवल सौर्य परियोजना ९८.५ मेगावाट र इवा खोला परियोजना ९९.९ मेगावाट आयोजना निर्माण सम्पन्न गरी बिजुली उत्पादन गरिरहेको छ ।

अरुण भ्याली हाइड्रोपावर समूहअन्तर्गत अरुण भ्याली हाइड्रोपावर कम्पनी, रिडी पावर कम्पनी, अरुण काबेली पावर लिमिटेड, अपि पावर कम्पनी लिमिटेड र ईङ्वा हाइड्रोपावर कम्पनी गरी पाँचवटा कम्पनीहरू धितोपत्र बजारमा सूचीकृत रहेका छन् ।

कम्पनीले विद्युतको अलावा कृषि क्षेत्रमा पनि लगानी गरेको छ । कम्पनीको लगानीमा ‘एग्रोभिजन फार्मिङ एण्ड रिसर्च कम्पनी लिमिटेड’ नामको सहायक कम्पनी स्थापना भएको छ ।

उक्त कम्पनीको अगुवाइमा विभिन्न जलविद्युत आयोजनाहरूमा रहेको खाली जमिनमा विभिन्न जातका फलफूल बिरुवाहरूको प्रवद्धन गर्ने तथा बुटवल सौर्य विद्युत आयोजना क्षेत्रमा बाख्रापालन कार्य भइरहेको छ ।

One comment on "रिडी पावरको सहायक कम्पनीमार्फत अघि बढ्यो तल्लो बलेफी, शेयरधनीलाई के फाइदा?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.