चितवनका दग्धु किसानले पाएनन् ७४ करोड भुक्तानी

  २०८१ भदौ २९ गते १२:०५     विकासन्युज

चितवन । चितवनका दुग्ध उत्पादक किसानले ७४ करोड रुपैयाँभन्दा बढी भुक्तानी पाएका छैनन् । फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानको मात्रै ३३ करोड रुपैयाँभन्दा बढी भुक्तानी रोकिएको छ । जिल्लाका १ सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो ।

भुक्तानी माग गर्दै संघले विभिन्न निकायमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत भुक्तानी नपाएको बगाले बताउँछन् । जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । त्यसमध्ये १ लाख ५१ हजार लिटर दूध जिल्ला बाहिर जाने गर्दछ । बगालेका अनुसार काठमाडौं, पोखरा, मकवानपुर, भक्तपुर, ललितपुर लगायतका जिल्लामा यहाँबाट दूध जाने गरेको छ ।

दूधको भुक्तानी समयमा नहुँदा यसको प्रभाव प्रत्यक्ष रूपमा किसानमा परेको छ । डेरी उद्योगले दूध बिक्री नभएपछि पाउडर र नौनी बनाएर राखेका छन् । ती सामग्री बिक्री नहुँदा भुक्तानी गर्न नसकेको उद्योगहरुले जनाउँदै आएका छन् । यद्यपि, बिक्री भएकाहरूले पनि भुक्तानी नगरेको किसानको गुनासो छ ।

यता गर्मी मौसमसँगै दूधको खपत बढेपछि यहाँको चितवन मिल्क उद्योगमा प्रशोधन गर्न दूध नपाउँदा उद्योग बन्द अवस्थामा छ । उद्योगले सहकारी र निजी फार्मबाट आएको दूध शुल्क लिएर प्रशोधन गरी पठाउने गरेको थियो । धुलो दूध र नौनी बिक्री नभएपछि उद्योगका गोदाम दुग्धजन्य पदार्थले भरिएका थिए । ती सामग्री घट्दै गएको भए पनि उद्योग भने सञ्चालन हुन सकेको छैन ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीले पाँच महिनादेखि उद्योग बन्द भएको बताए । दूध नपाएपछि गएको वैशाखबाट उद्योग बन्द भएको हो । विभिन्न संघ संस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि पाउन नसकिएको उनले बताए । एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक सिफ्टमा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ ।

सहकारी र फर्मले दूध नल्याएपछि आफैले दूध किनेर भए पनि मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजनामा रहेको उनले बताए । गएको वर्ष यो मौसममा दूधको अभाव थिएन । अघिल्ला वर्षमा असार १५ बाट साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था नआएको पराजुली बताउँछन् ।

उद्योगमा ३३ जना कर्मचारी रहेका छन् । उद्योग सञ्चालन नहुँदासमेत मासिक १५ लाख रुपैयाँ खर्च हुने पराजुली बताउँछन् । गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फर्मले नलगेपछि दुई पटक झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नु परेको थियो ।

केही दिनअघि उद्योगले २० हजार लिटर दूध खरिद गरेर मेसिन सञ्चालन गरेको थियो । मेसिन लामो समय बन्द रहँदा बिग्रने भएकाले दूध आफै किनेर समय समयमा सञ्चालन गरिँदै आएको छ । पराजुलीले भने, ‘हामीले दूध किन्छौं भन्दा पनि पाएका छैनौं, आउँदो हप्ता सर्लाहीमा एउटा संस्थाले दिन्छु भनेको छ ।’

विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको १ सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो । उद्योग भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.