निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छ : अध्यक्ष ढकाल

  २०८१ भदौ ३० गते ९:४३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसँगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गरेका हुन् ।

‘नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ,’ उनले भने, ‘सोही अनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाइ हुन्छ’ । ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको, र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको कुरा पनि बताए ।

उनले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको कुरा बताउँदै, अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने बताए । ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गरे ।

ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठवटा कानुनमा संशोधन भएको र द्विपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराए । यसै गरी उच्च विदेशी विनिमय सञ्चिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवर्द्धनमा सहयोग पुर्‍याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।

भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताइन् । निजी क्षेत्रलाई महत्त्व दिनुपर्ने विषयमा कोष सदैव सकारात्मक रहेको पनि उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.