२०८१ असोज १० गते १३:१६ विकासन्युज
काठमाडौं । पछिल्लो समय अर्थतन्त्रमा बाह्य क्षेत्रकाे ठूलो सुधार भएको देखिन्छ । विदेशिने युवा विद्यार्थी र वैदेशिक रोजगारीमा गएका नेपालीहरूले धमाधम विदेशबाट रेमिट्यान्स पठाउँदा विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत साउनसम्म विदेशी मुद्रा सञ्चिति २१ खर्ब रुपैयाँ पुगेको छ । जबकि असारसम्म २० खर्ब ४१ अर्ब १० रुपैयाँ मात्रै विदेशी मुद्रा सञ्चिति थियो । साउनसम्म कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशत बढेर २० अर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २ महिनामा २.० प्रतिशत बढेर ५ अर्ब ५८ करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलरमा १५ अर्ब २७ करोड सञ्चिति थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ थियो । साउनसम्म १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असारमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा साउनमा ८.४ प्रतिशत बढेर २ खर्ब ८ अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । साउनसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन् । असारमा यी अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.