चाडपर्वमा प्रहरीकाे सुरक्षा याेजना : बैंकहरूमा गस्ती, भीआईपीको सुरक्षामा कडाइ

  २०८१ असोज ११ गते १४:१९     विकासन्युज

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।

प्रहरीले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरू, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरू, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरू, व्यक्तिहरूको खालि रहेको घर, सरकारी कार्यालय र भीडभाड हुने बजारहरु रहेको उल्लेख गरेको छ । त्यस्तै एटिएम बुथ, खसीबजार, गरगहना पसल, धार्मिक स्थल, शक्तिपीठ, पुजास्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरूमा पनि सुरक्षा दिनुपर्ने भन्दै सो स्थानहरूमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाइएको छ ।

पत्रकार भेटघाटमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानहरुमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताए । उनले प्रहरीले व्यक्ति तथा सम्पत्तिहरको सुरक्षा गर्ने बताए । त्यसैगरी धार्मिक मठमन्दिर तथा जात्राहरुको सुरक्षा गर्ने पनि उनले जानकारी दिए ।

यस्तै, उनले बढी भीडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुमा प्रहरी गस्ती गरी सुरक्षा प्रदान गर्ने जानकारी दिए । त्यसैगरी सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गर्ने उनको भनाई छ ।

त्यसैगरी प्रहरीले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भीडभाड बजारमा पकेटमारी हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिइएको छ । एटिएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गर्ने, गरगहना पसलको सुरक्षामा, शक्तिपीठ, मन्दिर तथा पूजास्थलमा पनि गस्ती हुने उनले जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरुीक्षक रजौरेले शक्तिपीठहरूमा विशिष्ट व्यक्ति (भीआईपी) हरूको सुरक्षाको व्यवस्था मिलाइएको बताए । त्यसैगरी खसी बजारमा पकेटमारी, खसी चोरी, झैझगडा, ठगी, विवाद हुनसक्ने भन्दै सो स्थानहरुमा पनि प्रहरी परिचालन गरिने उनले जानकारी दिए ।

टिकट काउन्टरहरुले महंगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने उनले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.