विमानस्थल खुले, खुलेनन् नाका, दशैंमा टिकट महँगिने

  २०८१ असोज १३ गते १०:३५     विकासन्युज

काठमाडाैं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठवटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन् । सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ ।

यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो ।

विमानस्थल सञ्चालनमा आएपनि काठमाडौं उपत्यकाबाट आवागमन भने प्रभावित भएको छ । काठमाडौं भित्रिने क्रममा रहेका गाडीहरु भने बीचबाटोमै अलपत्र छन् ।

पश्चिमतर्फबाट काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको अवस्था सबैभन्दा खराब छ । झ्याप्ले खोलानेर ठूलो पहिरो झर्दा केही गाडीहरू पुरिएका छन् । त्यहाँको पहिरो पन्छाउने काम भइरहेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले धादिङ र काठमाडौं दुवैतिरबाट नागढुंगाको पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए । उनका अनुसार पहिरोमा परेर केही गाडी पनि पुरिएका छन् ।

सवारीसाधनको आवागमन प्रभावित भएसँगै अब दशैंमा घर जानेहरूले महँगो मूल्यमा हवाइ टिकट काटेर जानुपर्ने बाध्यता देखिएको छ । यसले यात्रुलाई थप आर्थिक भार हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.