भारतमा एकै महिना ३५ लाख विवाह हुँदै, ५९ खर्बको व्यापार हुने

  २०८१ असोज १४ गते १५:४९     विकासन्युज

काठमाडौं । भारतमा आगामी नोभेम्बरदेखि विवाहको सिजन सुरु हुँदैछ । यस पटक विवाह समारोह नोभेम्बर १२ देखि १६ डिसेम्बर २०२४ सम्म चल्ने छ ।

यस अवधिमा भारतभरि करिब ३५ लाख विवाह हुने अनुमान गरिएको छ । यी विवाहमा कुल ४२ खर्ब ५० अर्ब भारु खर्च हुने अनुमान गरिएको छ ।

कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) ले गरेको एक अध्ययन अनुसार भारतको खुद्रा क्षेत्र (जसमा सामान र सेवा दुवै समावेश छ) ले यो विवाह सिजनमा ५९ खर्ब रुपैयाँको व्यापार गर्ने अनुमान गरेको छ ।

देशभरि अनुमानित ३५ लाख विवाहको साथ यो सिजनले आर्थिक वृद्धिको कोशेढुंगा बन्न सहयोग पुग्ने बताइएको छ । गत वर्ष पनि ३५ लाख विवाह गरेर कुल व्यापार ४२ खर्ब ५० अर्बकै भएको थियो ।

यो वर्ष बिहे गर्नेको संख्या अलि बढी छ । सन् २०२३ मा ११ वटा बढी विवाह मुहुर्त परेकोमा यस वर्ष १८ वटा मुहुर्त परेका छन् । जसका कारण व्यवसायमा थप वृद्धि हुने अनुमान छ ।

नयाँदिल्लीमा मात्रै यस सिजनमा ४ लाख ५० हजार विवाहबाट १५ खर्ब रुपैयाँको व्यापार हुने अनुमान गरिएको छ ।

विवाह हरेक वर्गका मानिसबीच हुने गर्छ । तर, सबैले समान खर्च गर्दैनन् । कतिपय विवाहमा करोडौं रुपैयाँ खर्च हुन्छ भने कतिपय विवाह दुई–तीन लाख रुपैयाँमा पनि सम्पन्न हुन्छन् ।

सीएआईटीका अनुसार यस वर्ष धेरैजसो विवाहमा ३ देखि १५ लाखसम्म खर्च हुनेछ । करिब सात लाख विवाह यस्ता हुनेछन् जसमा २५ लाख रुपैयाँ खर्च हुनेछ । ५०–५० हजार यस्ता विवाह हुनेछन्, जसमा ५० लाख र १ करोडभन्दा बढी खर्च हुनेछ ।

यस्तै, भारत सरकारले यस वर्ष सुन आयात शुल्क १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । यसले सुनको माग बढ्ने अनुमान गरिएको छ । सुन भारतमा धार्मिक र सामाजिक रूपमा धेरै महत्त्वपूर्ण छ । मानिसहरूले यसलाई लगानीको रूपमा पनि हेर्छन् ।

सुनको माग बढेसँगै खुद्रा बजारमा पनि बलियो देखिएको छ । जब मानिसहरूले विवाह र चाडपर्वहरूमा खर्च गर्छन्, खुद्रा, अतिथि सत्कार, गहना र अटोमोबाइल क्षेत्रहरू लाभान्वित हुन्छन् । यी सबै क्षेत्रले आर्थिक विकासमा योगदान पुर्याउँछन् ।

माग बढेसँगै कम्पनीको नाफा पनि बढ्छ । यसले कम्पनीको सेयर मूल्य बढ्ने छ । यसले समग्र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ ।

भारतमा यो विवाहको सिजन खुसीको समय मात्र होइन, यो अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण छ । विवाहको समयमा हुने खर्च र बढ्दो माग सबै क्षेत्रका लागि फाइदाजनक छ । यसले नयाँ रोजगारीका अवसरहरू पनि सिर्जना गर्दछ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.