उत्कृष्ट करदाता विजय शाह देखिए दिलदार,  केआइओसिएचलाई ४ करोड सहयोग

  २०८१ असोज १४ गते १७:५५     विकासन्युज

काठमाडौं । तीन पटकसम्म उत्कृष्ट करदाता बनेर नेपाल सरकारबाट सम्मानित व्यवसायी विजयबहादुर शाहले आफ्नो उदार दिल दानबाट प्रदर्शन गरेका छन् ।  शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग प्रतिबद्धता जनाएको छ ।

शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने तथा विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरूको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसियू र डे केयर सर्जरी शाखाको तलालाई रुस्लान पिएसआइसियू नामाकरण गरिने भएको छ ।

यही भाद्र १३ गते शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसिएचलाई प्रदान गरीसकेको छ । कुल सहयोग प्रतिबद्धतामध्ये बाँकी ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रूपमा प्रदान गरिने भएको छ ।

गैरनाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन (जेजिआइएनएफ) ले यस सहयोग प्रक्रियाको समन्वय गर्दै आए पनि यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरिएको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘सबै सहयोग रकम विजय शाहको निजी सम्पत्तिबाट गरिएको हो । प्रस्तुत सहयोग तीन पटकसम्म नेपालकै शीर्ष करदाता हुनुभएका शाहको परोपकार र सामाजिक उत्तरदायित्व समर्पणको प्रतिबिम्ब बनेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.