पाँच अर्ब डिल विवादले सेबोन अध्यक्ष नियुक्तिमा ढिलाइ-प्रधानमन्त्री

  २०८१ असोज १५ गते १९:०३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेवोन)को अध्यक्ष नियुक्तिको क्रममा पाँच अर्ब रुपैयाँको डिल भएको भन्ने विषयमा उत्पन्न विवादकै कारण उक्त पदमा नियुक्तिमा ढिलाइ भएको बताएका छन् । उक्त डिलमा आफ्नो संलग्नता नभएको समेत उनले सार्वजनिक रूपमा प्रष्टिकरण दिएका छन् ।

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पाँच अर्ब रुपैयाँ’ एउटा पत्रिकाले समाचार छाप्यो । जुन पत्रिका त्यतिबेलाका प्रधानमन्त्री (पुष्पकमल दाहाल-प्रचण्ड) र अर्थमन्त्री (वर्षामान पुन) नजिकको हो । पत्रिकाको नाम मैले भन्नु परेन । लेख्ने साथीहरू सायद यही हुनुहुन्छ होला, ’ मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने,  ‘हाम्रो पार्टी त्यतिबेला सरकारमा भए पनि निणर्य गर्ने ठाउँमा थिएन ।’

उनले हरेक निर्णयमा कमिशन खोज्ने, हरेक परिस्थितिलाई लाभ लिने अवसरको रूपमा नलिन आग्रह गरेकाे बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘मैले हरेक परिस्थितिलाई लाभ लिने अवसरको रूपमा प्रयोग नगरौं । देशको अवस्था नाजुक छ । हरेक निर्णयमा कमिशन खोज्ने, पैसा लिएर नियुक्ति गर्ने, पैसा लिएर सरुवा गर्ने, पैसा लिएर बढुवा गर्ने, कमिशन लिएर ठेक्का दिने, कमिशनका भरमा खेलबाड गर्ने काम नगरौं भनेको थिएँ ।  त्यो भनेपछि उहाँहरू किन झस्किनु भयो? भोलिपल्ट पाँच अर्ब खाने भयो भनेर समाचार छापियो । पाँच अर्ब मलाई कसले ल्याएर दिन्छ ? किन दिन्छ ?’

उनले आफू कमिशनकाे लागि काम गर्ने व्यक्ति नभएकाे पनि बताए । ‘म कमिशनको लागि काम गर्ने होइन । कमिशन रोक्ने मान्छे हुँ । भ्रष्टाचार गर्ने मान्छे होइन, रोक्ने मान्छे हुँ । तपाईंहरूले के छपाउनु भयो ? उहाँहरू (प्रचण्ड-पुन)ले छपाएको होइन भन्नु भयो, ’ अध्यक्ष ओलीले भने ।

उनले थपे,  ‘यसमा पाँच अर्बको डिल होलाजस्तो पनि लाग्दैन । अर्को कुरा कर्मचारीले नियुक्ति खान पाँच अर्ब कहाँबाट ल्याएर देओस् ?’

नेपाल धितोपत्र बोर्डका अध्यक्षका आकांक्षीमध्ये एक सन्तोष नारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउन लबिङ गर्दै नेपालको ठूलो व्यावसायिक घराना शंकर ग्रुपले केपी शर्मा ओलीलाई मोटो रकम बुझाएको आरोप लाग्दै आएको छ ।

आफूमाथि लागेको आरोपको विरोध गरेपछि उहाँहरू (प्रचण्ड र पुन) छट्टाउन थालेको ओलीले बताए । मूलतः यही विषयमा विवाद चुलिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दालाल (प्रचण्ड)ले नेतृत्वको सरकारसँगको सहकार्य छोडेर नेकपा एमालेले नेपाली कांग्रेससँगको सहकार्यमा नयाँ सरकार बनाएको विश्लेषण त्यतिबेला नै भएकाे बताएका थिए ।

सर्वोच्च अदालतले नै पुरानै प्रक्रिया अगाडि बढाउनु भनेकोले वर्तमान सरकारले सोही प्रक्रियालाई अगाडि बढाएको पनि प्रधानमन्त्री ओलीले बताए । धितोपत्र बोर्डको अध्यक्ष पद विगत ९ महिनादेखि रिक्त रहेको छ ।

सेबोन अध्यक्षको छनाेट प्रक्रियामा चलखेलको आशंका !