२०८१ असोज १७ गते १२:५५ विकासन्युज
काठमाडौं । श्रमिक गन्तव्यको रूपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूको रुचि देखिएको छ ।
कतारका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन्,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, ‘हामी थप लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछौ ।’
नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरिय बैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न बैठकमा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको हो ।
कतारका अमीर सेख तमीम बिन हमाद अल थानी को गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।
काउन्सिलको यस पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ आफ्नाे नेतृत्वमा सदस्य नियुक्त गरि काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखे । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकमा भयो ।
बैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरुमा गरिएको सुधारले लगानीको अवसर जुटदै गएको बताए । उनले कतारका लगानीकर्ताहरूलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप विकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आह्वान गरे ।
कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाएका थिए ।
गत वैशाखमा मात्रै कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपाल आएका थिए । दुई दिने नेपालमा भ्रमणमा आएका उनीसँग सरकारी तहमा ५ वटा समझदारी र एउटा सम्झौता भएको थियो भने निजी क्षेत्रसँग पनि दुईवटा समझदारी र सम्झौता भएका थिए ।
सो बेला दुई देशको संस्कृति र कलाको क्षेत्रमा सहकार्य गर्न नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीच समझदारी, युवा तथा खेलकुदको क्षेत्रमा सहकार्य गर्न नेपाल र कतारबीच समझदारी र नेपालको महान्यायाधिवक्ता कार्यालय र कतारको सार्वजनिक अभियोजन कार्यालयबीच सहयोग तथा सहकार्यको समझदारी भएको थियो ।
यस्तै, कूटनीतिक प्रशिक्षणका लागि नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) र कतारको परराष्ट्र मन्त्रालयअन्तर्गको कूटनीतिक प्रशिक्षण केन्द्रबीच समझदारी, दुई देशका निजी क्षेत्र, नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बरबीच नेपाल–कतार संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्बन्धी समझदारी र सम्झौता भएको थियो । सोहीअनुरूप कतारका लगानीकर्ता अहिले नेपालमा लगानी गर्न इच्छा देखाएका हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.