ब्राण्डेड मदिरा बिक्री गरिरहेको ग्लोबल ट्रेडिङको व्यापार पाँच वर्ष यताकै उच्च, साढे एक अर्ब ऋण लिँदै

  २०८१ असोज २३ गते १४:३६     विकासन्युज

काठमाडौं ।  विशाल ग्रुपको स्वामित्वमा रहेको ग्लोबल ट्रेडिङ कन्सर्न प्राइभेट लिमिटेडले सन् २०२४ मा २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । विभिन्न किसिमका मदिरा व्यापार गर्दै आएको यस कम्पनीले सन् २०२४ मा सो व्यापार गरेको जानकारी दिएको छ । जुन व्यापार २०२३ को तुलनामा ६.२६ प्रतिशत बढी हो । सन् २०२३ मा कम्पनीले २ अर्ब २३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२२ मा २ अर्ब ९१ करोड ४० लाख, सन् २०२१ म १ अर्ब ९६ करोड ६० लाख र सन् २०२० मा १ अर्ब ७६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

ग्लोबलले उच्च तथा मध्यम स्तरका व्यक्तिका लागि लक्षित गर्दै स्कटल्याण्डको जनी वाल्कर कम्पनीले उत्पादन गरेको ब्लाकलेबल, डबलब्लाक, रेडलेबललगायत महंगा ह्विस्कीका साथै सिमरअफ कम्पनीको भोडका आयात गरी नेपालमा बिक्री गर्दै आएको छ ।

कम्पनीले इक्रा नेपालमा ऋणका लागि रेटिङ गराउँदा एनपी ए थ्री रेट्रिङ पाएको छ । कम्पनीले फण्डमा आधारित दीर्घकालीन २६ करोड र सर्टटर्मका लागि ९५ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले नन फण्डेड २९ करोड ८० लाख रुपैयाँ गरेर कुल १ अर्ब ५० करोड ८० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो ।

कम्पनीले व्यापार, उत्पादन, हस्पिटालिटी, बैंक तथा बीमा क्षेत्रमा लगानी गरेको छ । कम्पनीको अध्यक्ष आशिषकुमार अग्रवाल हुन् । जसको यस कम्पनीमा १९ प्रतिशत सेयर स्वामित्व रहेको छ । यो कम्पनीमा विभिन्न १४ जनाको सेयर छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार अग्रवाल हुन् ।

। कम्पनीले विभिन्न ब्राण्डका ह्विस्की, भोडका, रम, जिन, ब्राण्डी र टकिलाको बिक्री गर्दै आएको छ ।

सन् १९९८ नोभेम्बर ३० मा स्थापना भएको ग्लोबल ट्रेडिङले विभिन्न मुलुकहरूमा उत्पादन भएको ब्राण्डेड मदिरा र बियर आयात गरी नेपालभरि बिक्री वितरण गर्दै आएको छ ।

इक्रा नेपालले मदिरा उत्पादनहरू नेपालमा सबैभन्दा बढी कर लगाइने वस्तुहरूमा पर्ने हुँदा प्रत्येक वर्ष उत्पादन शुल्क बढ्दै जाँदा केही जोखिम सिर्जना गर्न सक्ने उल्लेख गरेको छ । सरकारले तयार मदिरामा उच्च आयात शुल्क लगाँदा र घरेलु मदिरा उद्योगलाई संरक्षण दिँदा आयातित मदिरा कम्पनीलाई समस्या हुन सक्ने उल्लेख गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.