चाडबाडको छेकोमा घुम्न सकिन्छ काठमाडौं उपत्यकाका यी गन्तव्य

  २०८१ असोज २५ गते १७:२४     ऋतु

काठमाडौं । ठूला चाडबाड सँघारमै आइसकेका छन् । अधिकांश पेसाकर्मी, जागिरे धेरैलाई दशैंतिहार, छठलगायत चाडमा फुर्सदिला हुन्छन् । किनभने सबैको लामो छुट्टी हुने गर्छ ।

यसैबीच नजिकका पर्यटन गन्तव्य घुम्ने सन्दर्भमा सबैका आ–आफ्नै योजना, अनुभव र सुझाव हुन सक्छन् । कसैले भन्लान्, ‘घर नजिक पनि कोही घुम्न जान्छ ?’

फेरि, कसैले भन्लान्, ‘नजिकको तीर्थ हेला गर्नुहन्न, त्यही भएर पहिला नजिकका गन्तव्य घुम्नुपर्छ ।’

यही मेसोमा काठमाडौं उपत्यका वरिपरि रहेका पर्यटन गन्तव्य छुटाउनै मिल्दैन । संघीय राजधानी काठमाडौं र सँगैका ललितपुर र भक्तपुर जिल्लाका पर्यटन गन्तव्यको सूची लामै हुन्छ ।

काठमाडौं उपत्यका वरिपरि धेरै नाम चलेका र स्थापित पर्यटन गन्तव्य छन् । ती गन्तव्यमा अधिकांश पर्यटक पुगेका छन् । पछिल्लो समय काठमाडौं उपत्यका वरिपरि स्थापना भएका दर्जनौं पर्यटन गन्तव्यमा घुम्न जाने पर्यटकको घुइँचो बाह्रैमास देख्न सकिन्छ ।

यसको अर्थ के हो भने छोटो समयमा थोरै खर्चमा बढी रमाइलो गर्न सकिने गन्तव्यका रूपमा काठमाडौं उपत्यका वरिपरि धेरै ठाउँ स्थापित भइसकेका छन् ।

ती नयाँ पर्यटन गन्तव्य पुग्न आफ्नै सवारीसाधन हुनेलाई झनै सहज हुने गर्छ । स्कुटर, मोटरसाइकल वा चार पाङ्ग्रे साधन हुनेका सपरिवार सजिलै नयाँ पर्यटन गन्तव्य घुम्न जान सक्छन् ।

काठमाडौं वरपरि रहेका पर्यटन गन्तव्य घुम्न जाँदा घरबाटै खानेकुरा बनाएर लान पनि सकिन्छ । होइन, उतै गएर किनेर खाने इच्छा भए राम्रा रेस्टुरेन्ट र होटल पनि पर्याप्त उपलब्ध छन् ।

पछिल्लो पटक काठमाडौं उपत्यका वरिपरिका डाँडामा दर्जनौं नयाँ पर्यटन गन्तव्य स्थापना भएका छन् । ती गन्तव्यमा केबुलकारदेखि, ठूला होटल, पार्क, भ्यु टावर, शिशाको पुल, पिङमात्र नभई मिठा र गुणस्तरीय परिकार खुवाउने रेस्टुरेन्ट अनि सानोतिनो खर्चले धान्ने मध्यमस्तरका रेस्टुरेन्ट, पसल ठूलो संख्यामा पाइन्छन् ।

त्यसकारण ठूला चाडबाडको छेको पारेर घुम्न निस्किने योजनामा हुनुहुन्छ भने काठमाडौं उपत्यका वरिपरि स्थापना भएका केही पर्यटन गन्तव्य तपाईं र तपाईंको परवार, इष्टमित्र अनि साथीभाइलाई स्वागत गर्न आतुर छन् ।

यी हुन् काठमाडौं उपत्यकाका पर्यटकीय गन्तव्य

चन्द्रागिरि

काठमाडौं उपत्यकाको दृश्यावलोकनका लागि चन्द्रागिरि उपयुक्त गन्तव्य हो । समुद्र सतहबाट २ हजार ५ सय मिटरमा रहेको चन्द्रागिरि डाँडा भौतिक सुविधासम्पन्न पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।

चन्द्रागिरि जानका लागि काठमाडौं थानकोटदेखि केबुलकारको सुविधा पनि छ । यद्यपि, चन्द्रागिरि पुग्न थानकोटबाट पदयात्रा पनि गर्न सकिन्छ ।

विशेषगरी चन्द्रागिरि धार्मिक पर्यटन, दृश्यावलोकन र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण छ । चन्द्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिर पनि रहेको छ ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले पहिलो पटक चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यका नियालेको इतिहास छ । अहिले चन्द्रागिरिमा सुविधा सम्पन्न होटलहरू बनिसकेका छन् । त्यहाँ पारिवारिक माहोलसहितका पूर्वाधारसमेत विकास गरिएको छ, जहाँँ बच्चादेखि वृद्धवृद्धासम्म रमाउन सक्छन् ।

त्रिभुवन पार्क

यदि तपाईं दशैं बिदामा काठमाडौं वरिपरि नै घुम्ने योजना बनाइरहनुभएको छ भने तपाईंका लागि त्रिभुवन पार्क पनि उपयुक्त गन्तव्य हो । राजा त्रिभुवनको नामबाट नामाकरण गरिएको यो पार्क शान्त र रमणीय छ ।

यो पार्क कलंकीबाट ६ किलोमिटर दूरीमा रहेको छ । काठमाडौंको दक्षिणपश्चिम प्रवेशद्वार थानकोटमा रहेको त्रिभुवन पार्कमा तपाईं परिवार र साथीभाइसँग गएर पिकनिक पनि मनाउन सक्नुहुन्छ ।

त्रिभुवन पार्कभित्र १५ वटा पिकनिक स्पटहरू छन् । जसमा १५० जनादेखि ४०० जनासम्म अट्ने क्षमता छ ।

हरियाली जंंगलभित्रका स–साना बगैंचा र चराचुरुङ्गीको चिर्बिर/चिर्बिर आवाजले मनै आनन्दित बनाउँछ । यस स्पटमा पुग्न रत्नपार्क, कलंकीबाट सहजै सार्वजनिक गाडी पाइन्छ ।

स्वप्न बगैंचा (ड्रिम गार्डेन)

यदि तपाईं दशैं बिदामा आफ्नो प्रेमी वा प्रेमिकासँग घुम्न जाने, समय बिताउने योजनामा हुनुहुन्छ भने पर्यटकीय क्षेत्र ठमेलमा एउटा ऐतिहासिक र सुविधासम्पन्न पार्क छ- गार्डेन अफ ड्रिम अर्थात स्वप्न बगैंचा ।

यो उपत्यकाभित्रको चर्चित डेटिङ स्पटमध्येको एक हो । सुन्दर र आकर्षक बस्ने ठाउँ, माछा पोखरी, बगैंचा, सुविधा सम्पन्न क्याफे रहेको बगैंचा केशरमहलसँगै रहेको छ ।

६ ऋतुका नामबाट निर्माण गरिएका आराम गृह, पोखरी, यूरोपियन शैलीको बरण्डा र विभिन्न प्रकारका चरा बस्ने घरहरूले यो बगैंचालाई थप आकर्षक बनाएका छन् । यो युवाजोडीका लागि मात्र नभइ परिवारसहित घुम्न र रमाइलो गर्न पनि सकिने ठाउँ हो ।

बालाजु पार्क

बालाजुस्थित बाइसधारा ऐतिहासिक महत्त्वको पर्यटकीयस्थल पनि हो । यद्यपि, यहाँको पौडी पोखरी, पार्क र २२ धाराले यो स्थानलाई दिन बिताउन सकिने स्थल बनाएको छ ।

बालाजु क्षेत्रमा रहेको तपोवन ध्यान, योगका लागि प्रसिद्ध स्थल हो । यहाँको आध्यात्मिक वातावरणले सम्बन्ध र भावनालाई गहिरो पनि बनाउन मद्दत गर्छ ।

नगरकोट

काठमाडौंनजिकै रहेको अर्को पर्यटकीय गन्तव्य हो, नगरकोट  । काठमाडौंबाट ३५ किलोमिटर दुरीमा रहेको नगरकोट निकै चर्चित गन्तव्य हो । सार्वजनिक यातायात तथा आफ्नै निजी सवारी चढेर एक–डेढ घन्टामै नगरकोट पुग्न सकिन्छ । बिदाका बेला नगरकोट भरिभराउ नै हुने गर्छ ।

करिब २२ सय मिटर उचाइमा रहेको नगरकोटको टावरबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ  ।

शिवपुरी–चिसापानी

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटकीय स्थल चिसापानी । यस स्थानबाट प्रकृतिक सुन्दर हरियाली, सूर्योदय र हिमालको मनमोहक दृश्य अवलोकन गर्ने सकिन्छ ।

बिदामा हाइकिङ जान इच्छा राख्नेहरूका लागि चिसापानी उपत्यका नजिकैको उपयुक्त गन्तव्य पनि हो । परिवार तथा साथीभाइसँग जाँदा यो यात्रा रोमाञ्चक पनि हुन्छ ।

शिवपुरी निकुञ्जको घना जंगल छिचोल्दै चिसापानी डाँडामा पुगेपछि हिमालको दृश्यावलोकन गर्न पाइन्छ  । त्यहाँ खान र बस्नका लागि होटेलहरूको पनि व्यवस्था छ ।

२ हजार ५ सय ६३ मिटर उचाइमा रहेको शिवपुरी डाँडाबाट हिमाली शृंखला, हरियाली घना जंगललगायत दृश्यहरू हेर्न सकिने हुँदा प्रकृतिप्रेमीहरूका लागि चिसापानी घुम्नका लागि उपयुक्त थलो हो । आफ्नो समयलाई अविस्मरणीय बनाउन चिसापानी अब्बल गन्तव्य हो ।

लाँकुरी भञ्ज्याङ

ललितपुरमा रहेको लाँकुरी भञ्ज्याङ उपत्यकाको दृश्यावलोकन र सगरमाथा हिमश्रृंखला, गणेश हिमाललगायत हिमालहरू अवलोकनका लागि परिचित छ । साथ, लाँकुरी भञ्ज्याङबाट उपत्यकाका तीनवटै सहरको विहंगम दृश्य देख्न सकिन्छ ।

चक्रपथबाट १३ किलोमिटर दूरीमा रहेको लाँकुरी भन्ज्याङ उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको छ । सल्ला, कटुस र लालीगुराँसको वन हुँदै लाँकुरी भन्ज्याङ पुगिन्छ । प्याराग्लाइडिङ गर्न र सूर्योदय हेर्न पनि लाँकुरी भञ्ज्याङ उपयुक्त छ । यहाँ होटल, रिसोर्ट तथा होमस्टेहरू पनि प्रसस्तै छन् ।

गोदावरी

प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि ललितपुरको सातदोबाटो चोकबाट ७ किलोमिटर दुरीमा रहेको गोदावरी यो एक उत्तम गन्तव्य हो ।

ढकमक्क फुलेका फूल, विभिन्न जडिबुडी र वनस्पति उद्यान, जल उद्यान, बगैंचा र जंगलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ ।
पिकनिक र पारिवारिक रिफ्रेसका लागि गोदावरी उपयुक्त स्थान हो । यस क्षेत्रमा बस्नका लागि आरामदायी होटल, रिसोर्ट तथा रेस्टुरेन्टको पनि सुविधा छ ।